खबर

मङ्पुमा ‘हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऊ’ खाद्यान्न वितरण कार्यक्रम

मङ्पुमा ‘हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऊ’ खाद्यान्न वितरण कार्यक्रम
जुन 8, 2021

मङपु: हाम्रो मङपु राम्रो मङपुको पहलमा कोरोनाको दोस्रो वेभ महामारीको समयमा ‘हुनेले दिएर जाऊ अनि नहुनेले लिएर जाऊ’ भन्दै खाद्य सामाग्रीहरू लिइने तथा दिइने क्रम काम जारी छ। आज तेस्रोपल्ट हाम्रो मङपु राम्रो मङपु संस्थाले मङपु विभाग चौरस्तामा पुगेर यस प्रकारको कार्यक्रम गरे, जसमा धेरै जनाले खाद्यान्न समाग्री अनि साग-सब्जी दिएर सहयोग गरे भने विपन्न परिवारले उक्त कामको सरहना गर्दै खाद्यान्न सामाग्री अनि साग-सब्जीहरू लिएर गए। यसरी नै आगामी 11 जूनमा पनि संस्थाको पहलमा लाब्दा ग्रामसेवक मैदानमा यस प्रकारको कार्यक्रम गरिने संस्थाका सद्स्य बिभोर सिङद्नले जानकारी दिएका छन्। यसरी आजको कार्यक्रममा खाद्यान्न अनि साग-सब्जीहरू दिएर सहयोग गर्ने सम्पूर्ण मानिसहरुलाई संस्थाको पक्षमा प्रणय राई, बिदेन प्रधान र सन्दीप दियालीले आभार प्रकट गरेका छन्।

मन घिसिङको निर्देशमा गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटी गठन


जुन 8, 2021

दार्जिलिङ: गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनलाई पालन गर्दै गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटी गठन गरिएको छ दार्जिलिङका विधायक निरज जिम्बाको प्रमुख उपस्थितिमा गोरामुमो केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा यस विषयलाई लिएर व्यापक छलफल गरेको बताइको छ। बैठक पछि डिजास्टर कमिटी गठन गर्नको उद्देश्य बारे पत्रकारहरुलाई जानकारी गराउँदै केन्द्रीय समिति सदस्य वाई लामाले भने, गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा हाल कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै जनताको निम्ति आफ्नो क्षमता अनुसार सेवा पुर्याैउन हेतु डिजास्टर कमिटी गठन गरेको साथै अन्य समस्याहरु तथा बर्खायामलाई केन्द्रित गर्दै भल-पैह्रो आउने सम्भावनाहरुको निम्ति र यसबाट पीडितहरुलाई के-कस्तो सहयोग पुर्यातउन सकिन्छ सो यस डिजास्टर कमिटीले कार्य गर्ने भएको छ। यसको साथै दार्जिलिङ जिल्ला अधिकारी , खण्ड बिकास अधिकारीसँग सहकार्य गरेर जनतालाई पार्टीको तर्फबाट पनि सेवा पुर्यारउने छ भनी वाई लामाले जानकारी दिएका छन् । उक्त कमिटीमा मुख्य संरक्षणको रुपमा अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा अनि दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्ड रहेका छन् भने डिजास्टर म्यानेजमेन्ट कमिटीको अध्यक्ष वाई लामा, उपाध्यक्षा मन्जिला तामाङ र सुरज कटुवल, मुख्य सचिव रवि छेत्री, सल्लाहकारहरुमा राजेन तामाङ, हेम सारङ प्रधान, किशोर राई लगायत 17 जनाको कार्यकारिणी सदस्यहरु चयन गरिएको बताइएको छ।

युवा तृणमूलद्वारा विपन्न मानिसहरूलाई खाना वितरण


जुन 8, 2021

जुन
सिलगढी : कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा जारी आंशिक लकडाउन अवधि धेरैजना मानिसहरू खाद्य संकटसित जुझिरहेका छन्। गत वर्ष लकडाउन अवधि धेरैजना मानिसहरू लगायत स्वयम्‌सेवी संगठनले असहाय मानिसहरूलाई खाद्य सामग्री वितरण गरेका थिए भने यस वर्ष उक्त संगठनहरूले कोरोना संक्रमितहरूलाई एम्बुलेन्स परिसेवा तथा अक्सिजन परिसेवा प्रदान गरिरहेकोले असहाय मानिसहरू खाद्य संकटसित जुझिरहेका छन्। यसैले असहाय मानिसहरूको सहयोगको लागि सिलगढीको 26 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसले बाबुपाडा मोड संलग्न एउटा क्लबको कम्युनिटी किचनको माध्यमद्वारा जनसेवा गरिरहेको छ। 26 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसका बाबाई बसुले बताएअनुसार लकडाउनको शुरूदेखि नै कम्युनिटी किचनको माध्यमद्वारा विपन्न परिवारका मानिसहरूलाई खाना वितरण गरिरहेका छन् भने आगामी दिनमा पनि लगातार जारी रहनेछ।
सङ्गीतकार तथा प्रधान अध्यापक सफल थापाको निधन


जुन 8, 2021

सिलगढी : सङ्गीतकार, गीतकार, गायक तथा नक्सलबारी उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक सफल थापा अब रहेनन्। हिजो राति 11 बजेर 25 मिनटमा तिनले सिलगढीको एउटा नीजि नर्सिङ होममा अन्तिम श्वास फेरेको पारिवारिक सूत्रले जनाएको छ। प्राप्त जानकारीअनुसार गत केही दिन अघि कोरोना संक्रमित भएपछि उनी कोरोनाबाट मुक्त पनि भइसकेका थिए भने तिनको रिपोर्ट नेगेटिभ आइसकेको थियो। तथापि, कतिपय शारीरिक समस्याहरूसँग तिनले सङ्घर्ष गरिरहेका थिए। यसै क्रममा सिलगढीको एउटा नर्सिङ होममा उपचाराधीन अवस्थामा गत राति तिनको निधन भयो। पेशाले प्रधान अध्यापक रहेका सफल थापा चर्चित गायिका द्वय स्नेहाश्री र सानिध्यकी पिता तथा गायिका एवम् रविरत्न ढुङ्गाना गर्ल्स स्कुलका प्रधानअध्यापिकाको पति थिए। तिनको निधनमा विभिन्न संघ-संगठन तथा सङ्गीत जगतकाहरूले गहिरो शोक व्यक्त गरेका छन्। आज सिलगढीको फाँसीदेवामा स्थित तिनको नीजि वासस्थानबाट तिनको अन्तिम संस्कारको लागि शवयात्रा निकालिइने भएको छ।
डा. लामाको पहलमा दार्जिलिङका सबै चियाबारीहरूको इतिहास लिखित पुस्तकको रूपमा प्रकाशित गरिने


जुन 8, 2021

खरसाङ : दार्जिलिङको सानो रेललाई विश्व धरोहरको सूचीमा गाँभिएकोले यसको अस्तित्व रहिरहन सफल भएको छ। यसरी नै दार्जिलिङ-डुवर्स युनाइटेड डेभलपमेण्ट फाउन्डेसन (डीडीयुडीएफ) -को सक्रियतामा चियाबारीहरूको आफ्नो किपट, संस्कृति, पूर्खौली सम्पदाको जगेरा र संरक्षण गर्दै युएनओ-को विश्व धरोहर (वर्ल्ड हेरिटेज) को सूचीमा गाँभ्ने पहल गरिएको जानकारी प्राप्त भएको छ। पहाड़को सबै चियाबारीहरूको ऐतिहासिक महत्व र यसको पुरानो इतिहास लिखित रुपमा लेखिनु पर्ने आवश्यकता बोध गरेर डीडीयुडीएफ-को अध्यक्ष डा. महेन्द्र पी.लामाको पहलमा पहाड़का चियाबारीहरूको ऐतिहासिक पृष्ठभूमि र यसको इतिहास लेख्नलाई पुस्ताकारको रुपमा प्रकाशित गर्ने पहल भइरहेको छ। यसबारे तीनधारेका स्रष्टा बीरेन लामा जानकारी दिँदै बताए अनुसार विश्व धरोहरको दर्जा पाएपछि दिनो-दिन अस्तित्वहीन र मूल्यहीन बन्दै गइरहेको चियाबारीहरू परिवर्तन होइन तर रूपान्तरण भएर जाने साथै श्रमिकहरू लगायत मालिक पक्षलाई पनि लाभ हुने डा. महेन्द्र पी लामाको भनाई रहेको छ। यस पहलको निम्ति विशेष गरेर प्रत्येक चियाबारीको संक्षिप्त इतिहास लेख्नलाई गाउँका पुराना व्यक्तिहरूसित सोधी-खोजी गरी तीन हजार शब्दभित्र लेखेर साथै सम्भव भए पुरानो कागज-पत्र, चिट्ठी चपेटा, पुराना फोटोहरू सहित आगामी 31 अगस्त 2021 सम्म लेखेर पठाउने सबै चियाबारीका स्रष्टाहरूलाई अनुरोध पनि तिनले गरेका छन्। पहाड़का सबै चियाबारीका इतिहास लेखन सम्बन्धी जानकारीको लागि सम्पूर्ण लेखक लेखिकाहरूले तीनधारेका लेखक बीरेन लामासित सम्पर्क गर्नसक्ने पनि बताएका छन्।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button