खबर

उपचारका लागि झलनाथ खनाल दिल्ली उडे, स्वास्थ्यावस्था स्थिर

२ असार २०७८

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ।

नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताए ।

यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गरेका छन्। नर्भिक अस्पतालमा पुगी उनले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिए। सोही अवसरमा नेता खनालले महासचिव पोखरेललाई “तपाईँले पार्टी मिलाउनुहोस् कमरेड” भनी आग्रह गरेका थिए।

स्वास्थ्यावस्था स्थिर

नर्भिक अस्पतालमा रहँदा उनको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ज्वरोसंँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

नेता खनालको फोक्सोमा पानी जमेको र सोही कारणले अक्सिजनको कमी देखिएको थियो । नर्भिकमा उनको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा. ब्रजेन्द्र श्रीवास्तवले उनको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताए।

हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उनलाई मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए।

कोभिड–१९ हुँदा उनलाई निमोनियाको समस्या देखिएको थियो। छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताए। केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो ।Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button