स्वास्थ्य

लामो समयदेखिको टाउको दुखाइ : कारण र उपचार

साधारणतया कसैको निधार, टाउकोको पछाडि, आँखाको गेडी पछाडि वा टाउकोको छालामा मात्रै दुखाइ वा असहज महसुस हुनु भनेकै टाउको दुखाइ हो। टाउको दुख्ने समस्या विश्वव्यापी रुपमा अधिकांश मानिसमा हुने गर्दछ। चिकित्सा क्षेत्रमा सबैभन्दा धेरै गुनासो गरिने समस्यामध्ये यो पनि एक हो।

करिब ९७ प्रतिशत मानिसमा आफ्नो जीवनकालमा कम्तीमा एक पटक टाउको दुख्ने समस्या देखिन्छ। यो समस्या महिलाहरुमा बढी हुने गर्दछ। टाउको दुखाइमध्ये तनक्क तन्के जसरी दुख्ने (टेन्सन हेडेक) टाउको दुखाइ लगभग ४०.५ प्रतिशत र माइग्रेन १०.५ प्रतिशत व्यक्तिमा पाइन्छ। माइग्रेन सामान्यतया २५ देखि ५५ वर्ष उमेरका व्यक्तिमा बढी हुन्छ। पुरुषको तुलनामा महिलाहरूमा यो समस्या लगभग ३ गुणा बढी हुन्छ।

अधिकांशमा सबैभन्दा धेरै टाउको दुखाइका कारण माइग्रेन, ओसिपिटल न्युरल्जिया, टेन्सन, क्लस्टर र सरभाइकोजेनिक टाउको दुखाइ नै हुन् ।

माइग्रेन
माइग्रेन, दुखाइ मध्येको बढी व्यक्तिमा देखिने टाउको दुखाइको एउटा रूप हो। बारम्बार घोच्ने वा भकभकी हान्ने, सहन सक्नेदेखि गम्भीर अर्धटाउको दुखाइको रूपमा वर्णन गरिन्छ। माइग्रेन भएकामा दुखाइबीच पूर्ण राहत हुन्छ। माइग्रेन भएका

बिरामी अँध्यारो र शान्त कोठामा बस्न रुचाउँछन् र शारीरिक गतिविधि वा दैनिक कार्यहरुको बेवास्ता गर्दछन्।

करिब एक तिहाइ बिरामीले टाउको दुख्नु अगाबै आफैले महसुस गर्ने खालका लक्षण (औरा) महसुस गर्ने गर्छन्। बिरामीले फरक खालका औरा महसुस गर्ने गर्दछन्, त्यस मध्ये मुख्यतः आँखामा प्रकाशको चमक, काला धब्बा र अन्य दृष्टि परिवर्तनहरू र हातमा झन–झन समावेश छन्।

ओसिपिटल न्युराल्जिया
ओसिपिटल न्युराल्जियामा हुने टाउकोको दुखइ निकै कडा खालको हुन्छ। छुरा प्रहार वा विद्युतीय झट्का खालको महसुस हुने टाउको दुखाइ हो। यस प्रकारको टाउको दुखाइ सामान्यतया टाउकोको पछाडि भागमा बढी दुख्ने गर्दछ।

यो केही सेकेन्डदेखि केही मिनेटसम्म रहन्छ। यो दुखाइ मुख्यतः टाउकोको ओसिपिटल क्षेत्रबाट उत्पन्न भएर माथिल्लो घाँटी, टाउकोको पछाडि र आँखाको पछाडि फैलिन्छ। आँखाको पीडा, कान बज्ने, चक्कर आउनेसमेत हुन सक्छ।

क्लस्टर खालको टाउको दुखाइ
क्लस्टर एक खालको क्षणिक गम्भीर एकपक्षीय टाउको दुखाइ हो। यो पुरुषहरुमा बढी देखिन्छ। दुखाइ असाध्यै पीडादायी हुन्छ। अक्सर, यस प्रकारको टाउको दुखाइलाई आत्मघाती टाउको दुखाइको रूपमा वर्णन गरिएको छ। क्लस्टर टाउकोको दुखाइ मानवजातिले भोग्ने सबैभन्दा नराम्रो दुखाइ मध्येको एक हो।

टेन्सन हेडेक
यसलाई टाउकोको मांसपेशीबाट उत्पन्न भएको दुखाइको रूपमा लिइन्छ। यो तनावसँग मात्र नभएर टाउको वा घाँटीमा स्नायुसम्बन्धी समस्यासँग सम्बन्धित हुन सक्छ। प्रायः टाउकोको फ्रन्टल, टेम्पोरल र ओसिपिटल क्षेत्र सामेल हुन्छन्। टाउको वरिपरि कडा ब्यान्ड को महसुस हुन्छ।

सर्भाइकोजेनिक टाउको दुखाइ
घाँटीको स्रोतबाट टाउकोमा भएको दुखाइलाई सर्भाकोजेनिक दुखाइ मानिन्छ। यसमा प्राय: घाटीको नशा च्यापिएको कारण टाउको दुख्ने हुन्छ।

कसरी कम गर्ने टाउको दुखाइ? यस्ता छन् उपचारका विकल्प
केटामिन इन्फ्युजन
आजकाल टाउको दुखाइ वा अन्य दुखाइमा केटामिनको प्रयोग गरिएको विभिन्न प्रकाशित अध्ययनले देखाएको छ। माइग्रेन दुखाइका लागि अन्तर्देशीय केटामिन प्रभावकारी हुन्छ। रेफ्रेक्टरी क्रोनिक माइग्रेन भएका सबै बिरामीमा पीडा कम भएको महसुस हुन्छ। नियमित रूपमा माइग्रेन अनुभव गर्ने बिरामी जो पेन्किलर र अन्य औषधीसँग प्रभावहीन छन्, तिनीहरूले केटामाइन उपचारबाट फाइदा लिन सक्छन्।

बोटुलिनम टोकसिन
बोटुलिनम टोकसिन माइग्रेनको गम्भीरता र फ्रिक्वेन्सी कम गर्न प्रभावकारी मानिन्छ ।

ओसिपिटल नर्भब्लक
ओसिपिटल नर्भब्लक सर्भाकोजेनिक टाउकोको दुखाइ, माइग्रेन र क्लस्टर टाउको दुखाइका साथै ओसिपिटल न्यूरल्जियासहित विभिन्न प्रकारको टाउको दुखाइको उपचारमा प्रभावकारी छ।

स्फेनोपालाटिन गनग्लिओन ब्लक
स्फेनोपालाटिन गनग्लिओन ब्लक माइग्रेन टाउको, क्लस्टर टाउको र धेरै अनुहारको दुखाइ को लागि एक आकर्षक र प्रभावकारी उपचार ढाँचा हो।

रेडिओफ्रिक्वेन्सी
टाउकोको पीडादायी नसाहरूको रेडिओफ्रिक्वेन्सी एब्लेसन एक विकल्प हुन सक्छ।

-(पेन स्पेसियलिष्ट डा रिजाल काठमाडौं पेन म्यानेजमेन्ट सेन्टरमा कार्यरत छन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button