स्वास्थ्य

स्वास्थ्यकर्मीले पाएनन् दुई वर्षदेखि कोभिड जोखिम भत्ता

काठमाडौं,भदौ २०, २०७८
धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ ।

दुई चरणकै संक्रमणमा जोखिम भत्ता प्राप्त गर्न नसकेका स्वास्थ्यकर्मी कर्मचारीले तेस्रो चरणको संक्रमण आयो भने कसरी कार्य क्षेत्रमा खटिन सक्लान् चिन्ताको विषय बन्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । पहिलो चरणको कोभिडको समयमा धुलिखेल अस्पतालमा कोभिड अवधिमा अधिकृत तहभन्दा माथिल्लो पदमा रहेर काम गर्ने चिकित्सक तथा कर्मचारीको २५ प्रतिशत तलब कटौती गरिएको थियो भने अधिकृत तहभन्दा तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको हकमा १० प्रतिशत तलब कटौती गरिएको थियो ।

यो वर्ष तलब कटौती नगरिए पनि स्रोत अभावका कारण मासिक भुक्तानी हुने पारिश्रमिक दुई साता पर धकेलिन थालेको छ । तर पनि स्वास्थ्यकर्मी कर्मचारीले अझै कोभिडबापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । कोभिड हुँदा प्राप्त हुने बिमाबापतको रकम दुई वर्ष बितिसक्दा पनि प्राप्त हुन नसकेको स्वास्थ्यकर्मीले बताएका छन्। नेपाल समाचारपत्र दैनिकमा छ ।

कोभिडमा काम गरेका अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी दुवैले दुई वर्षदेखि सरकारले दिने भनेको जोखिम भत्ता प्राप्त गर्न नसकेको अस्पतालका प्रशासकीय प्रद्युम्न श्रेष्ठले जानकारी दिनुभयो । प्रशासन विभागका जय राईले २०७८ वैशाख १५ देखि असार मसान्तसम्म धुलिखेल अस्पतालमा कार्यरत ७ सय १७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्नेमा हालसम्म प्राप्त नभएको जानकारी दिए । जसमध्ये डाक्टर १ सय ८९, नर्स २ सय ७४, पारामेडिक्सअन्तर्गत एक्सरे र रेडियोलोजीमा कार्यरत ३१, माइक्रोबायोलोजीमा कार्यरत २९, २४ घण्टा सेवा प्रदान गर्ने २९, आइसोलेसनमा काम गर्ने ४०, काउन्टरमा काम गर्ने तथा चालक १७, सहयोगी कर्मचारी ९५ र पोस्ट रेजिटेन्ड कन्सल्टेन्सी ११ गरी ७ सय १७ जनाले विभिन्न मितिमा कोभिडमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउन बाँकी रहेको राईले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button