
२२ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर ÷ नेपाली काँग्रेसको मेचीनगर उपसभापतिमा राजु अधिकारी ‐(बाटिका) ले उम्मेद्वारी दिने भएकाछन् । पार्टीको १४ औँ महाधिवेशनलाई लक्षित गरेर भदौ २७ मा हुने नगरपालिका र गाउँपालिको अधिवेशनमा अधिकारीले उपसभापति पदका लागि उम्मेद्वार बन्ने बताए ।
मंगलबार स्थानीय सञ्चारकर्मीहरुसँग अधिकारीले आफुलाई पार्टीका क्रियाशील सदस्यहरुको साथ सहयोग रहेका कारण उपसभापतिमा उम्मेद्वारी दिने बताए । २०४६ सालबाट नेपाली काँग्रेसको चारतारे झण्डामा गोलबद्घ बन्दै अहिले सम्म सोहि पार्टीमा सक्रिय
रहेकाले यस पटकको अधिवेशनमा मेचीनगरको उपसभापतिमा आफु योग्य भएको अधिकारीको भनाई छ ।
नेपाली काँग्रेस नेपालको एक लोकतान्त्रिक राजनीतिक दल भएका कारण आफुलाई विभिन्न समयमा पार्टीले दिइएको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गरेको उनको भनाई छ । पर्यटन तथा होटल व्यवसायी अधिकारीले नेपाली काँग्रेसकै प्रतिनिधित्व गरेर नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल एजेण्ट्स १ नम्बर प्रदेश समितिको कार्यकारी सदस्य, कोषाध्यक्षको जिम्मेवारी बहन गरिसकेकाछन् । अधिकारीले अवको पार्टीको जिम्मेवारी युवालाई दिनुपर्ने र पार्टीका अग्रज नेताहरुले अभिभावकीय भूमिकामा रहनुपर्ने समेत बताए ।
काँग्रेसको नयाँ विधान अनुसार नगर कार्यसमिति ७५ सदस्यीय रहनेछ । जसमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष हुनेछ । नगर अधिवेशन यही भदौ २७ गते हुँदैछ ।



