‘समाचार र विचारको
साझा चौतारी’






संक्रमित घटे, मौसमी फ्लुका बिरामी बढे


२४ भाद्र २०७८
चिरञ्जीवी मास्के, दोलखा ।

दोलखामा कोरोना संक्रमणको जस्तै लक्षण देखिने मौसमी फ्लुका बिरामीको संख्यामा वृद्धि भए पनि कोरोना पोजेटिभ केस भने घट्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

‘रुघा, खोकी, जरो, पखालाजस्ता कोरोना संक्रमणको जस्तै लक्षण भएको बिरामीको संख्यामा वृद्धि भएको छ, तर कोरोना संक्रमितको संख्यामा भने कमी आएको छ ।’ –चरिकोट अस्पतालका प्रमुख डा. विनोद दंगालले भन्नुभयो । मौसमी फ्लुका बिरामीमा बालबालिकाको संख्या पनि उल्लेख्य रहेको डा. दंगालले बताउनुभयो ।

चरिकोट अस्पतालमा भदौको पहिलो हप्तासम्म रुघा, खोकी, जरोजस्ता लक्षण भएका बिरामी दैनिक ५०/६० जना आउँदा कोरोना संक्रमित ४० भन्दा बढी हुने गरेकोमा अहिले त्यस्ता लक्षणसहितका बिरामी दैनिक ५० जना आउँदा कोरोना संक्रमितको संख्या ५ जनाभन्दा बढी नदेखिने डा. दंगालले बताउनुभयो ।

जिरी अस्पतालका निमित्त प्रमुख गौतमकुमार शाहले पनि मौसमी फ्लुको बिरामी बढे पनि कोरोना संक्रमितको संख्या भने घट्दै गएको बताउनुभयो । विगतमा दैनिक ८÷१० जना कोरोना पोजेटिभ केस भेटिने भए पनि अहिले मौसमी फ्लुका बिरामी दैनिक १० जनासम्म आउँदा पनि कोरोना संक्रमण शून्य रहेको शाहले बताउनुभयो ।

धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालका डा. राजेन्द्रकुमार दंगालले पनि अहिले विशेष गरी बालबालिकाहरु मौसमी फ्लुबाट पीडित बनेको तर कोरोना पोजेटिभ केस भने निकै कम भएको बताउनुभयो । विगुको सिंगटी र तामाकोसीको किर्नेटार अस्पतालमा पनि मौसमी फ्लुका बिरामी बढेका छन् तर कोरोना पोजेटिभ केस निकै घटेको सवास्थ्यकर्मीले बताएका छन् । तामाकोसी गाउँपालिकाका स्वास्थ्य चौकीमा दैनिक पाँचभन्दा बढी मौसमी फ्लुका बिरामी उपचारका लागि आउने गरेको तर उनीहरुको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ केस निकै कम मात्र देखिने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो ।

दोलखा जिल्लामा सबैभन्दा बढी सिंगटी अस्पतालमा मौसमी फ्लुका बिरामी धेरै आउने गरेको तर संक्रमण दर भने अत्यन्तै न्यून देखिएको विगु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर खड्काले बताउनुभयो । ‘विगतमा १५ जना रुघा, खोकी, जरोका बिरामी आउँदा १२ जनासम्ममा कोरोना पोजेटिभ देखिन्थे अहिले त्यति नै संख्याका बिरामीमा १/२ जनामा मात्र कोरोना संक्रमण देखिन्छ ।’ –खड्काले भन्नुभयो ।

मौसमी फ्लुका बिरामीहरुमा कोरोना पोजेटिभ नदेखिए पनि रुघा, खोकी, जरो, पखालाका बिरामीले उच्च सर्तकता अपनाउनुपर्ने चरिकोट अस्पतालका डा. विनोद दंगालको भनाइ छ । मौसमी फ्लुका बिरामी पनि कोरोना संक्रमित जस्तै सचेत रहनुपर्ने डा. दंगालको भनाइ छ ।
अहिले मौसम परिवर्तन, बाढीका कारण धमिलो पानी, खानपानमा समस्या जस्ता कारणले मौसमी फ्लुका विरामी बढेको उल्लेख गर्दै डा. दंगाल उमालेको पानी मात्र पिउने, स्वस्थ र शुद्ध खानेकुरा खाने, तातो कपडा लगाउने, मास्क लगाउने जस्ता कुरामा ध्यान दिनुपर्ने बताउनुहुन्छ ।newsofnepal/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्