स्वास्थ्य

बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले थाल्यो मृगौला प्रत्यारोपण सेवा

२९ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं १ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार श्रीमतीको मृगौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण अस्पतालले यो सेवा सुरु गरेको हो ।
सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ बर्षीया नन्दकुमारीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा सुनिल शर्माले चौतारी पोष्ट अनलाइनलाई बताए । ‘नोबेलमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ,’ डा शर्माले भने, ‘प्रदेश नं १ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण थालेको हो । अब हामी नियमित रुपमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन गछौं ।’ अहिले सम्म काठमाडौमा मात्रै मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेल शिक्षण अस्पतालले यो सेवा सुरु गरेको छ ।


नोबेलका यूरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा रामसागर शाहसहितको मेडिकल टिमले गत शनिबार भुर्तेलको शरिरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेको हो । मृगौला प्रत्यारोपण पश्चात श्रीमान–श्रीमती दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी गराएको छ। उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । नोबेलका मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा रामसागरशाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो । मृगौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा डा प्रेम ज्ञवालीसहितको टिमले सहयोग गरेको थियो ।


ल्याप्रोस्कोपिक बिधिबाट श्रीमतिको वायाँ मृगौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डाशाहले चौतारी पोष्टलाई बताए। ‘मृगौला प्रत्यारोपण थालेको पहिलो पटक नै नेपालका कुनैपनि अस्पतालले ल्याप्रोस्कोपिक विधिबाट मृगौला निकालेर प्रत्यारोपण गरेका छैनन्, हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग गर्यौं,’ डा शाहले भने ।
दुई बर्ष अघिदेखि दुवै मृगौला ‘फेल’ भएपछि टेकनाथ नियमित डाइलाइसिस गराउँदै आएका थिए । मृगौला प्रत्यारोपणपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको डॉक्टर शाह बताउँछन् । डा शाह भन्छन् ‘मृगौला प्रत्यारोपण सफल भएपछि उहाँले डाइलाइसिस गरिरहनु पर्दैन, सामान्य दैनिकीमा फर्कनुहुन्छ । औषधि भने नियमित खाइरहनुपर्छ ।’


मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिमा २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । अङ्ग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमति दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button