
२७ मंसीर २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । दुबै मृगौला खराब भई उपचारको क्रममा रहेका काँकरभिट्टाका मानबहादुर सुवेदी(राकेश) को जीवन बचाईदिन अपिल गरिएको छ ।
करीब ४ महिनाअघिबाट दुबै मृगौलाले काम गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर ६ लक्ष्मी टोल निवासी ४१ बर्षीय सुवेदीको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरिएको छ ।
सुवेदीकी पत्नि बबिता सुवेदीले आर्थिक अवस्था कमजोर भएको र परिवारमा श्रीमान्को अस्वस्थतासँगै आयआर्जनको पाटो नै बन्द भएकाले आँफूहरु संकटमा परेको बताइन् । उनका अनुसार मृगौला रोगी सुवेदी लामो समयदेखि चालकको रुपमा काम गरेका थिए । उनी बिरामी परेसँगै परिवार धान्नै मुस्किल भएको उनले दुखेको पोखिन् ।
‘वहाँकै कमाईले हामी पाँच सदस्यीय परिवारको जीविकोपार्जन हुदै आएको थियो, उनले भनिन्– श्रीमान् थला परेसँगै परिवार गम्भीर संकटमा छौं, सबैले सकेको सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’
सुवेदीलाई उनका बुवा ललितबहादुर सुवेदीले मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको परिवारले जनाएको छ । सोको लागि २० लाखबढी रकम आवश्यक छ जुन २ महिना भित्रमा जुटाउनु पर्ने सुवेदी परिवारको दायित्वमा छ । हाल उनको मेची अञ्चल अस्पताल भद्रपुरमा हप्ताको दुई पटक डायलासिस भइ रहेको छ ।
उनलाई आर्थिक सहयोग गर्न चाहाने देश विदेशमा रहेका सबै सहयोगीहरुमा मानबहादुर सुवेदीको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ०२२१५२०८७०१ मा रकम जम्मा गरिदिन परिवारले सबैमा सार्वजनिक अपिल गरेको छ । सुवेदीका दुई छोरी र एक छोरा छन् ।
परिवारको तर्फबाट मानबहादुर बचाउ अभियान सञ्चालन गर्दै आर्थिक संकलन गर्न आर्थिक सहयोग संकलन समिति बनाउने तयारी गरेको र सोको लागि सहयोग गरिदिनसमेत सामाजिक अभियन्ता तथा सहयोगीहरुमा अनुरोध गरेको छ ।



