
धनबहादुर बुढा
३ पुस २०७८
जिल्लाको तिला गाउँपालिका २ का धनबहादुर परियार पाँच वर्षअघि काठमाडौंको सिंहदरबार गाउँमा आइपुगेको खबरले निकै उत्साहित थिए।
अब गाउँमै रोजगारी सिर्जना भएर कालापहाड यात्रामा बिराम लाग्ने आशा उनको थियो। तर स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्न लाग्दा पनि गाउँमा रोजगारीको अवसर सिर्जना नभएपछि उनी निकै निराश छन्। परियारले भने, ‘गाउँ सरकारको स्वरोजगार सिर्जना गर्नेतर्फ ध्यान छैन।
गाउँ सरकार सडकलाई नै विकासको आधार सम्झिरहेका छन्। डोजरले मात्र विकास सम्भव भएको रटान लगाउँछन्। काठमाडौंको अधिकार आँगनमा आयो भनियो तर अनभूति अझै भएन,अधिकार पहुुँचवालाको वरिपरि मात्र रह्यो। सर्वसाधारणलाई कालापहाड जान छुटेन।’
जुम्लाकै शेरबहादुर रावत कालापहाड जान हिँडेको एक साता पुग्यो। उनी प्रत्येक वर्ष कालापहाड जान्छन्। हिउँदको चार महिना कालापहाडमा बिताउने उनी खेतीपातीको समयमा घर आइपुग्छन्।
कालापहाड जानुको एउटा मात्र कारण हो–गाउँमा रोजगारी पाइँदैन, स्वरोजगारका कार्यक्रम हुँदैनन्। परिवारका सदस्यको लत्ताकपडा फेर्नकै लागि भए पनि कालापहाडको यात्रा नगरी सुखै छैन। उनी कालापहाड यात्रा गर्दागर्दा बानी परिसकेका छन्।
गाउँमा विकास डोजर र डोजर मालिकले गर्छन्। जनताले काम गरेर जीविका चलाउने भरपर्दो काम पाइँदैन। जनप्रतिनिधि र कर्मचारीले कमिसनको आसले समुदाय केन्द्रित योजना बनाउँदैनन्। ठेकेदारमैत्री योजना बनाउने भएकाले सर्वसाधारणले राहत महसुस गर्न पाउँदैनन्।
उपभोक्ता समितिमा आफ्नो अनुकूलका नातागोता पर्ने राख्छन्। निमुखा र विपन्न नागरिक कालापहाड जानुको विकल्प हुँदैन। रावतले भने, ‘शासन व्यवस्था फेरियो,कर्णालीबासीको कालापहाड जाने क्रम रोकिएन। झन बढ्न थाल्यो।’
यहाँका अधिकांश युवा कालापहाडमा छन। सिँजाका वीरबहादुर खत्री कालापहाडबाट फर्किन समय लाग्ने बताउँछन्। तिहार मनाएको एक साताभित्रै कालापहाड हानिएका उनी स्वरोजगारका अवसर नहुँदा अर्काको देशमा गएर काम गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। उनले भने, ‘गाउँमा काम पाइँदैन, काम खोज्न कालापहाड जानुको विकल्प छैन।
गाउँको काम ठेकेदारको हातमा छ। गाउँमा पर्याप्त खेतबारी छैन। खेती किसानी व्यावसायिक रूपमा गर्न कतैबाट सहयोग हुँदैन। जनताका लागि आउने हरेक कार्यक्रम गाउँसम्म पुग्दैनन्। त्यही भएर कालापहाड बाध्यता हो।’
कर्णालीका जुम्ला, मुगु, कालिकोट, हुम्ला,डोल्पालगायत सुदूरपश्चिम क्षेत्रबाट यो समयमा कालापहाड जानेको लर्को नै लाग्छ। ‘कालापहाड पुगेर पसिना बगाउनु बाध्यता हो,’ मानबहादुर कामी भन्छन्, ‘सरकारले गरिब लक्षित कार्यक्रम ल्याउँदैन। आएका कार्यक्रममा पहुँचवालाको हालीमुहाली हुन्छ। किन घरमा बसिराख्ने? त्योभन्दा कालापहाड नै जाती।’
कालापहाडमा पुगेका नेपाली कुल्ली,गलैंचा बुन्ने र जडीबुटीको व्यापार गर्छन्। ‘कालापहाड जानु कर्णालीवासीको रहर होइन,बाध्यता हो,’ कामीले भने, ‘घरमा बसौं,खर्च धानिँदैन। घर छोडौं, कालापहाड जानुको विकल्प छैन। जीवनको अधिकांश समय घरपरिवारबाटै टाढा रहनुको पीडा कालापहाडीलाई मात्र थाहा हुन्छ।’
यहाँका युवा काम खोज्दै भारतका कुमाउ,गढवाल, हिमाञ्चल प्रदेश, उत्तर प्रदेशमा पुग्छन्। पछिल्लो समयमा खाडीमुलुक जाने युवाको पनि लस्करै छ। हिउँदका चार महिना कर्णालीका गाउँ बुढाबुढी, महिला र बालबालिकाले धानेका हुन्छन्। कोही बिरामी हुँदा अस्पतालसम्म पुग्न पनि कठिन हुन्छ। महिलाले नै बिरामीलाई अस्पतालसम्म लैजान्छन्।nagariknews/from



