विचार

के कांग्रेसले आत्मबोध गर्ला?

देवीदत्त शर्मा

काठमाडौं। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिमा अनौठा परिदृश्यहरू देखिएका छन्। एकातिर बिभाजित र आन्तरिक संकटले ग्रस्त एमाले, निर्वाचनमा गठबन्धन भएमा सर्मनाक हार हुने आतंकमा छ भने कांग्रेसका कतिपय नेतामा चाहिँ गठबन्धन नै हुन नदिने छट्पटी छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको जोड गठबन्धन भएरै निर्वाचनमा जाने भएपनि कांग्रेसले नमानेमा कांग्रेस इतर गठबन्धन बनाउने उनीहरूको योजना प्रष्टै छ। जीतको पहिलो आधार आफ्नै शक्ति र दोस्रो आधार मात्र गठबन्धन भन्ने कुरामा माओवादी लगायतका पार्टीहरू स्पष्ट देखिन्छन्।

ओली प्रतिगमनसंगै लगातार ओरालो यात्रामा रहेको एमाले पहिलो पार्टी हुने कल्पनातित दम्भमा छ। तर प्रोपोगन्डा रणनीतिमा माहिर एमाले नेताहरूलाई के थाहा छ भने यो देखाउनैपर्ने बाध्यकारी दम्भ मात्रै हो। पहिलो संसद विघटनसंगै नेकपामा बिजोकलाग्दो शक्ति सन्तुलनमा रहेको ओलीगुट नेकपा खारेज गर्ने अदालती सेटिङले मात्र एमालेका रूपमा बौरिएको हो, त्यो पनि पुरानो पार्टीमा रहेको कृतिम बहुमतले।

तत्कालीन नेकपाले त ओली प्रतिगमन खारेज गरेर ओलीलाई पार्टीको साधारण सदस्य समेत नहुनेगरी अनुशासनको कार्बाही गरेको हो। त्यो कार्बाही गर्दा कारबाही गर्ने पक्षसँग अपार बहुमत थियो। त्यही कारवाही गर्ने पक्ष नै आजको माओवादी केन्द्र र एकीकृत समाजवादी हो। १० बुँदे कार्यान्वयन भन्दै केही नेता माधव( झलनाथलाई धोका दिएर अन्ततः ओली प्रतिगमनतिर लहसिएपनि नेकपाको अपार बहुमत हिस्सा माओवादी केन्द्र(एकीकृत समाजवादी)तिरै छ। र, भीमबहादुर रावल, घनश्याम भुसाल लगायतका १० बुँदेवालालाई तथा रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका हिजो माओवादी केन्द्र भएर आज एमालेमा रहेकाहरूलाई त्याहाँ दोस्रो दर्जाको व्यवहार गरिएको छ।

भीम, घनश्यामहरूले त नेतृत्वसंग बैचारिक टक्कर लिएर पराजित समेत भएकाले यसो हुनु स्वाभाविक हो भनिएला तर पदमै भएका युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतको हालत पनि त्यही हो। नेपाली जनताको यत्रो परिवर्तनबिरुद्ध प्रतिगमन लाद्ने भन्दा ठूलो बैचारिक बिचलन के हुनु? अनि त्यो मुल प्रवृत्ति भन्दा बाहेकको बैचारिक टक्करको के अर्थ? हिजो माओवादी केन्द्रसंग भएकाहरू त त्याहाँ आत्मसमर्पित नै छन्। लाज पचाएर तथाकथित जनताको बहुदलीय जनवादको खोल ओड्नु अनि ओलीले माओवादी आन्दोलनलाई सत्तोसराप गर्दा मुसुमुसु हाँसेर थपडी बजाउनु तिनको दिनचर्या हो।

कि ओलीले भनेको खुरुखुरु मान्नुपर्‍यो, कि पार्टी छाडेर हिंड्नुपर्‍यो बाँकी बैचारिक छलफल र स्वस्थ प्रतिस्पर्धाको ठाउँ एमालेमा छैन। केन्द्रमा त यो हालत छ भने तल्ला निकायहरूमा झन के होला? त्यसैले नेकपाबाट छुट्टिएको, भएकै पार्टी पनि बिभाजित भएको र पार्टीभित्र कुनै एकत्वभाव नभएको एमालेले चुनाव जित्ने कुरा फगत आत्मरती मात्रै हो।

अझ सरकार गठबन्धन चुनाबसम्म रहने कुराले एमालेलाई सहिनसक्नु आतंकित बनाएको छ। एमसीसी प्रकरणमा गठबन्धन फुटाउन अहोरात्र खट्नु र भित्रभित्रै राप्रपा, लोसपा जस्ता पुरातन एवं राजावादीहरूसंग गठबन्धन बनाउन मरिहत्ते गर्नु एमालेको त्यही मनोबैज्ञानिक आतंक हो। आफ्नै प्रतिगामी, दम्भी र उत्तेजक भुमिकाले एमाले अस्तित्व रक्षाको संकटमा हुँदा संबिधान जोगाउने सर्तमा त्यसविरुद्ध एकगठ भएकाहरू अझै एमालेलाई निर्णायक हैसियत दिनेगरी प्रस्तुत हुनु भने लज्जास्पद कुरा हो।

खासगरी कांग्रेसका शेखर कोइराला, धनबहादुर गुरुङ, गगन थापा जस्ता नेताहरू नै एमालेलाई उत्साहित बनाउने भुमिकामा छन्। लोकतन्त्र(गणतन्त्रको लागि सहकार्य हुनसक्ने, ओली प्रतिगमनविरुद्ध एकठाउँ हुनसक्ने, संबैधानिक एवं राष्ट्रिय मुल्य भएका यावत बिषयहरूमा मतैक्य हुनसक्ने तर साझा उद्देश्य पुर्तीका लागि चुनावी तालमेल हुननसक्ने किन हो, तालमेलबिरोधी कांग्रेस नेताहरूले कुनै तर्क दिनसकेका छैनन्। तालमेल हुनसक्दैन भने फेरि प्रतिगामी उद्देश्य बोक्नेहरूले नै जित्नुपर्छ भन्न खोजिएको हो?

ओली प्रतिगमनले के सिद्ध गर्‍यो भने समाजवादको आधार तय गर्ने उद्देश्य बोकेको संबिधान संरक्षण गरेर स्थायीत्वमा पुग्न लोकतान्त्रिक सहकार्यको आवश्यकता अझै रहेछ। बिश्वास गरेकाहरूले जुनकुनै बेला जनताबिरुद्ध गद्दारी गर्न सक्ने रहेछन्। यो सरकार गठबन्धन त्यही आवश्यकताको उपज हो। र, चुनाबी तालमेलको उद्देश्य अझै एक आबधीक चरणसम्म यो गठबन्धन कायम रहोस् भन्ने हो।

खासमा सतहमा तालमेलको जोड प्रचण्ड(माधव(उपेन्द्रहरूले गरेजस्तो देखिएपनि यसको मुल फाइदा कांग्रेसलाई नै छ। आज कांग्रेसले सरकार नेतृत्व गर्ने हैसियत पाएको गठबन्धनभित्रको ठुलो पार्टी हुनुको कारणले हो। तालमेलबाट पनि उसले नै सबैभन्दा ठुलो हैसियत पाउने हो। तालमेल भएमा त्यसले ुप्रतिगामी उद्देश्यको बिरोध र बिकासको लागि स्थायित्वुको मुद्दालाई औचित्यपूर्ण दृष्टिले संयुक्त रूपमा स्थापित गर्नेछ। किनकी एमालेसंग त आज जनताबीच जाने औपचारिक एजेण्डा र मुद्दा नै छैन।

कांग्रेसका तालमेलबिरोधी नेताहरूमा यो चेतना आएन भने सरकार गठबन्धनमा भएका कांग्रेस इतर पार्टीहरूको स्वाभाविक गठबन्धन बन्ने छ। त्यसको तयारी देखिसकिएको पनि छ। हिजो नेकपाको समिकरणकै हिसाबकिताबले पनि प्रचण्ड(माधव गठबन्धन एमाले भन्दा धेरै शक्तिशाली त हुने छ नै, मधेशको सबैभन्दा ठुलो पार्टी जनता समाजवादी अनि राष्ट्रिय जनमोर्चा जस्ता पार्टीसमेत त्यसमा स्वाभाविक जोडिनेछन्।

एमालेलाई त त्यो गठबन्धन यसैपनि महंगो पर्छ, कांग्रेसले प्रतिस्पर्धा गर्नुपर्ने मुल शक्ति पनि त्यही हुनेछ। यो कुराको आत्मबोध कांग्रेसलाई होला कि नहोला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button