बर्डफ्लू भेटिएपछि तीन हजार कुखुरा नष्ट


 

हेटौँडा,। बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि शुक्रबार तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।

कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौँ पठाइएको र सात दिनपछि बिहीबार बर्डफ्लू प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिए ।

उनका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासँगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय हेटौँडामा बिहीबार बैठक गरी बर्डफ्लू प्रमाणित भएको फार्मका कुखुरा नष्ट गर्न टोली पठाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए ।

50% LikesVS
50% Dislikes