सृजनाको चौतारी

योग्य नेता

बाक्पटुता हुनेहरु
लज्जाहीन मुद्रामा कुरा चपाउँदै
गत पाँचवर्ष अघि ढाँटेका र
सजिलै ढाँट्न सकिएका उप्रिथुप्री कुरा बिर्सेर
नयाँ ढाँचा र ढङ्गका, उस्तै
हास्यास्पद कुराका ठेली बोकेर
निर्लज्ज नमस्कार पो गर्दैछन् ।
धनाढ्यको ध्वाँसबाट डराउनेहरु
हेपित, दलित, पीडित, गरिबहरु
न्याय खोज्ने साहस गर्दा
उल्टै
धनाढ्यको तुजुके ध्वाँसलाई
पवित्र कानुन ठानेर
न्यायको पैरवी गर्ने, जननिर्वाचित
अलौकिक प्रतिनिधिहरु
गरिबका अमूल्य आँसुबाहकहरु
समुस्कान पुनः सस्तो नमस्कार गर्दैछन् ।
छक्क पर्नु कि, अथवा
लाजले भतुक्क हुनु
भनिनसक्नु छ,
भनिने, योग्य नेताका
पारदर्शी जन —जवाफदेहिता
खोजिनसक्नु छ,
सोधी वा बुझीनसक्नु छ,
तिनको झुटको खेतीयोग्य पाँचवर्षे
कसरतका अनेकौं तिलस्मी बाक्कला
नेपालभरि, आखिर
कहिलेसम्म छुट होला!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button