कृषि र किसान

विदेशमा सिकेको सीप स्वदेशमा लगानी

सुन्दरीजलमा शेर्पाको गाईपालन

न्युज अफ नेपाल
काठमाडौं ।

रोजगारीको खोजीमा दैनिक ५ हजारभन्दा बढी युवायुवती विदेश जाने गरेका छन् । हरेक दिनजसो दर्जन बढी शव विभिन्न मुलुकबाट नेपाल भित्रने गरेका छन् । यो हृदयविदारक दृश्यले आम नेपालीको मन छुने गरेको छ । राज्यले भनेजस्तो रोजगारी दिन नसक्दा अहिले लाखौं नेपालीहरू ५७ भन्दा बढी मुलुकमा रोजगारीका लागि गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । झन्डै ५५ लाख नेपाली नागरिक रोजगारीका लागि विदेशिएका छन् ।

मुलुकमा आसन्न संसदीय निर्वाचनलाई समेत वास्ता नगर्दै कामको खोजीमा विदेशिनेको संख्या रोकिएको छैन । नेपालमा बसेर केही गरौं भन्ने वातावरण नभएपछि विदेसिन बाध्य भएको रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अर्घाखाँचीका युवराज भुसालले बताउनुभयो ।गाउँमा चुनावको रौनकले छोइरहेको बेला भुसाल भने रोजगारीका लागि शनिबार कतार उड्नुभयो । वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका अधिकांश मानिसहरू पुनः अर्को मुलुक जान चाहने र त्यो सफल नभए घरमा नै बसेर सानोतिनो आर्यआर्जनको काम गर्ने गरेको देखिन्छ ।तर, केही यस्ता युवा पनि छन् जसले विदेशमा बसेर सिकेको सीपलाई नेपालमा आएर राम्रो आयआर्जनको बाटो पनि बनाएका छन् ।

सोलुखुम्बु सल्लेरीका आङफुर्वा शेर्पा (सालका) रोजगारीको सिलसिलामा इजरायलमा गएर ७ वर्ष काम गरेर २०७० मा नेपाल फर्किए। ७ वर्ष कृषिसम्बन्धी काम गरेर स्वदेश फर्किएका शेर्पाले अब मुलुकमा नै बसेर केही गर्ने हिम्मत गर्नुभएको थियो ।इजरायलमा कमाएको पैसालाई नेपालमा नै लगानी गर्ने सोच बनाएका शेर्पाले राजधानीको पूर्वोउत्तरमा रहेको सुन्दरीजल क्षेत्रमा केही गर्ने सोच बनाउनुभयो ।शुरूमा तीन रोपनी जग्गा किनेर कृषि व्यवसाय शुरू गर्ने सोचका साथ अगाडि बढे पनि आफूले सोचेजस्तो व्यापार नभइदिँदा भने शर्पाको मनमा हुटहुटी जागेर आयो । शुरूमा अग्र्यानिक तरकारी खेती शुरू गरेका शर्पाले उत्पादन गरेको कृषि उपजले भने जस्तो बजार पाएन ।

आफ्नै पैसाले खरिद गरेको जमिन र भाडामा लिएको जग्गामा लगाएको तरकारीले बजार नपाएपछि शेर्पाले आफ्नो व्यवसायलाई केही परिष्कृत गर्ने सोच बनाउनुभयो । २०७१ सालबाट तरकारी खेतीमा लागैका शेर्पा २०७२ सालको भूकम्पपछि भने तरकारी खेतीलाई मूल पेसा नबनाई गाई पाल्नेतर्फ लाग्नुभयो ।शुरूमा २ वटा उन्नत जातका गाई ल्याएर व्यवसाय शुरू गरेका शेर्पाको फर्ममा अहिले विभिन्न जातका १ सय १९ वटा उन्नत गाईहरू रहेका छन । शेर्पाले अहिले १३ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने आफ्नो पढाइलाई पनि निरन्तरता दिएर भेटेनरी डक्टर बन्ने तयारीसमेत गर्नुभएको छ ।

झन्डै ७ करोड लगानी गरेका शेर्पाले आफ्नो भिनाजु दावा शेर्पालाई साझेदार बनाएर सालका गाई फर्म सञ्चालन गरिरहनुभएको छ । उहाँलै आफ्नै फर्ममा उत्पादन भएको दूधलाई बजारीकरण गर्न सालका दूध डेरी स्थापना गरेर बजारमा पु¥याउने कामसमेत गर्नुभएको छ ।
अहिले सो फर्ममा ५२ वटा उन्नत जातका गाईबाट दैनिक हजार लिटर दूध उत्पादन हुन्छ भने मेसिनको प्रयोग गरेर गाई दुहुने गरिएको छ । फर्मले गाई भैंसीलाई चाहिने घाँससमेत आफंै उत्पादन गर्दै आएको छ ।

सरकारले कृषि क्षेत्रमा लाग्ने युवाहरूलाई आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याए पनि सालका गाई फर्मले भने सरकारले दिने सामान्य अनुदानबाहेक केही पाएको छैन । सोही फर्ममा भेटिएका दावा शेर्पाले भन्नुभयो– ‘हुने खाने र पहुँचवालाले मात्रै लाखौं करोडौं अनुदान पाउँदा रहेछन् हामीले सहुलियतमा पाउने २ करोड ऋणबाहेक केही पाएका छैनौं ।’

स्थानीय निकायले केही सहुलियत र अनुदान भने उक्त फर्मलाई नदिएको चाहिँ होइन । दावा भन्नुहुन्छ– हामीलाई वडा कार्यालयले बेला बेलामा सहयोग गर्ने गरेको छ । सो फर्ममा रहेका गाईले दैनिक १२ देखि ३४ लिटरसम्म दूध दिने गरेको छ । उक्त फर्ममा अझै केही गाई थप्ने योजनामा रहेका शेर्पा नेपालस्थित इजरायली दूतावासले दिने हौसलाले झन् यो काममा लाग्न प्रेरित गरेको बताउनुहुन्छ ।नेपालस्थित इजरायली राजदूत हनान गोदर दुईपटक उक्त गाई फर्ममा गएर शेर्पालाई हौसला दिने काम गर्नुभएको छ । ‘उहाँबाट हामीले अन्य सहयोग नपाए पनि हौसला पाएका छौं यो हाम्रा लागि खुसीको कुरा हो’ – शेर्पा बताउनुहुन्छ ।

सो फर्ममा रहेका गाईहरूले ९० प्रतिशतभन्दा बढी बाच्छी जन्माउने गरेको छ । ती बाच्छीलाई सोही फर्मले हुर्काउँदै आएको छ । गाईबाट जन्मिएका बाच्छाहरू भने पशुपतिमा रहेको गौशालमा लगेर छाड्ने गरिएको छ । त्यसरी छाडिएका बाच्छाहरूको जिम्मेवारी पनि आफ्नो रहेको बताउँदै बेलाबेलामा आर्थिक सहयोग उपलब्ध गराउने गरेको शेर्पा बताउनुहुन्छ ।नेपालमा नै केही गरौं भन्ने उदाहरण बनेका शर्पालाई भने अहिलेसम्म कुनै ठूला मान्छेले तपाईंले यो राम्रो काम गर्नुभयो भनेर हौसला नदिँदा भने मन खिन्न भएको बताउनुहुन्छ । यो व्यवसायलाई अझै फैलाउँदै लैजाने सोचमा रहेका शेर्पा मागअनुसारको आपूर्ति गर्न नसकेकोमा भने चिन्तित हुनुहुन्छ ।

सो फर्ममा जापानिज होलिस्टेन, स्विस होलिस्टेन र क्रम जर्सी गाईहरू रहेका छन् । फर्ममा रहेका गाईको गोबरलाई समेत खेर नफाली फर्मले कम्पोस्ट अग्र्यानिक मल उत्पादन गरेर दैनिक ५ सय किलो बिक्री गर्ने गरेको छ । राजधानीमा नर्सरी र कौसी खेती गर्नेहरूले उक्त मल प्रयोग गर्ने भएकाले मागअनुसारको उत्पादन गर्न नसकिएको शेर्पा बताउनुहुन्छ ।

‘राज्यले रोजगारी दिन नसके पनि आफ्नै लगानीमा केही गरौं भने यहाँ नहुने होइन गर्न सकिन्छ’ –शर्पा भन्नुहुन्छ । सरकारले नेपाली युवालाई विदेश पठाउनुअघि दक्ष बनाएर पठाउने हो भने उहाँहरू नेपाल फर्किएपछि त्यहाँ सिकेको सीपलाई यहाँ लागू गरी उत्पादन क्षेत्रमा लागू गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button