
कोकिला ढकाल
इलाम, जेठ ६ गते । जङ्गली जनावरले खेतीबाली नष्ट गर्न थालेपछि इलामका किसान बेसार खेतीतर्फ आकर्षित भएका छन् । बेसारबाट पनि नसोचेको आम्दानी हुन थालेपछि बेसार रोप्नमा किसान उत्तिकै उत्साहित छन् ।
इलामको रोङ गाउँपालिका–३ का किसानले गत वर्षदेखि नै बेसार खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । इको चिया तथा कृषि सहकारी संस्थामा आबद्ध ५५ किसानले बेसार खेती गरिरहेको संस्थाले जनाएको छ । सहकारीमा आबद्ध किटेनीकी किसान सरिताकुमारी लेप्चाले यस वर्ष ५६३ किलो बेसार बेच्नुभएको छ । यस्तै रोङ–३ कै अर्का किसान राजकुमार राईले पनि ३२५ किलो बेसार बेच्नुभएको छ । यहाँका अन्य किसानले पनि १० किलोदेखि एक/दुई मन (४० किलो) सम्म बेसार उत्पादन गरेर बेचेका छन् ।
सहकारीमा आबद्ध किसानले लगाएको बेसारको उत्पादन सहकारी आफैँले खरिद गरिदिएकाले किसानलाई बिक्रीमा त्यति समस्या नभएको किसान राईले बताउनुभयो । सहकारीले यस वर्ष काँचो बेसार प्रतिकिलो ३२ रुपियाँका दरले किसानबाट चार हजार ९४६ किलो बेसार किसानबाट खरिद गरेको संस्थाका व्यवस्थापक गणेश अर्यालले बताउनुभयो । “अर्को वर्ष उत्पादन हुने बिउ किसान आफैँले राखेका छन् । संस्थाले खरिद गरेको बेसार बिउ माग भएको स्थानमा पठाउने र बाँकी रहेको प्रशोधनका लागि झापा पठाइने गरेको छ,” अर्यालले भन्नुभयो ।
बेसार खेतीलाई बाँदर, दुम्सीलगायतका जङ्गली जनावरले नष्ट नगर्ने र कम लगानीमा धेरै उत्पादन लिन सकिने हुँदा पनि बाँदर लाग्ने स्थानका किसानलाई सजिलो भएको अर्यालले बताउनुभयो । “पहिला बाँदरले अन्न र तरकारीबालीसमेत नष्ट गरेर किसानलाई हैरान पारेको थियो । अहिले बाँदर लाग्ने अधिकांश ठाउँमा बेसार खेती सुरु भएको छ,” अर्यालले भन्नुभयो, “अब हामी यहाँ उत्पादन भएको बेसारलाई अन्तर्राष्ट्रिय बजारमा पठाउन पहल गरिरहेका छौँ ।” अर्यालका अनुसार यसअघि रोङमा उत्पादन भएको बेसारको नमुना जर्मनीमा राम्रो भएको र अब बजारका लागि पहल थालिएको छ ।
इलामकै माईजोगमाई गाउँपालिकाले पनि ‘एक वडा एक उत्पादन’ कार्यक्रम अन्तर्गत माईजोगमाई–५ मा बेसार खेती सुरु गरेको छ ।
गत वर्ष रोङबाटै बिउ लगेको पालिकाले स्थानीय एक बचत समूहमार्फत किसानलाई बेसार खेती गराउन थालेको छ । युवालाई स्वरोजगार र गाउँमै आत्मनिर्भर गराउन ‘एक वडा एक उत्पादन’ को कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे बताउनुहुन्छ । गत वर्षदेखि सुरु गरिएको बेसार खेतीले पहिलो वर्ष नै राम्रो नतिजा दिएको र किसानलाई समूहमार्फत बेसार प्रशोधन मेसिनसमेत दिइएको गाउँपालिका उपाध्यक्ष प्रवीणा राईको भनाइ छ ।
उपाध्यक्ष राईले भन्नुभयो, “पछिल्लो समय बाँदर, बँदेल, दुम्सी जस्ता जङ्गली जनावरले अन्य खेती तथा तरकारीबाली नष्ट गर्न थालेपछि किसानलाई आर्यआर्जन गर्न मिल्ने वैकल्पिक खेतीका रूपमा बेसार खेतीतर्फ आकर्षण होस् भनेर यो कार्यक्रम सुरु गरिएको छ ।”
गोरखापत्र अनलाइन



