
गोविन्द लुइँटेल
काठमाडौँ
कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषण लगायत सुविधाको अभाव देखिएको छ। उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान जोखिममा परेको पाइएको छ। अहिले देशभरिका कारागारमा २७ हजार कैदीबन्दी छन्।
देशभरिका कैदीबन्दीका लागि सुविधायुक्त अस्पताल भने एउटा मात्रै छ। यसले गर्दा कैदीबन्दीले बिरामी पर्दा समयमै सेवा पाउन सकेका छैनन्। काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागार अस्पताल ३० शड्ढयाको छ। अन्य कारागारमा प्राथमिक स्वास्थ्य जाँचपछि गम्भीर प्रकृतिका बिरामीलाई केन्द्रीय कारागार अस्पताल ल्याएर उपचार गर्ने व्यवस्था छ। केन्द्रीय कारागार अस्पतालमा बिरामीको चापले गर्दा समयमै भरपर्र्दाे सेवा पाउन कठिन छ।
बिरामी कैदीबन्दीको उपचारसँगै पोषणमा राज्यले पर्याप्त ध्यान दिन नसक्दा कतिपयको मृत्यु हुने गरेको छ। कैदीबन्दीको नियमित स्वास्थ्य जाँच र बिरामी पर्दा पोषणयुक्त खानेकुराको प्रबन्ध मिलाउनुपर्ने राज्यको दायित्व हो। तर त्यो दायित्व पूरा गर्नबाट राज्य चुकेको छ।
केन्द्रीय कारागारका एक हजार दुई कैदीबन्दीले अहिले चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्छन्। सात सय ग्राम मोटा चामल र ६० रूपैयाँले छाक टार्नुपर्ने अवस्थामा कैदीबन्दी छन्। बिरामीले भने सामान्य कैदीबन्दीले भन्दा १० प्रतिशत बढी रूपैयाँ पाउँछन्। यसले पोषणयुक्त खानेकुरा र सहज उपचारको प्रबन्ध गर्न कठिन छ।
एक हजार चार सय कैदीबन्दीको क्षमता भएको सुन्धारास्थित केन्द्रीय कारागारमा अहिले तीन हजार चार सय ५९ जना छन्। त्यसैसँगै रहेको ३० शड्ढयाको केन्द्रीय कारागार अस्पतालमा देशभरबाट दैनिक सरदर २० जना बिरामी उपचारका लागि आउँछन्।
देशका ७२ जिल्लामा ७४ वटा कारागार छन्। जिल्ला कारागारका कैदीबन्दी गम्भीर बिरामी भएको अवस्थामा थप उपचारका लागि सरुवा गरी केन्द्रीय कारागार अस्पताल ल्याउने व्यवस्था छ।
केन्द्रीय कारागारमा अहिले गम्भीर प्रकृतिका प्यारालाइसिसका ३७, मिर्गाैलाका सात, क्यान्सरका १२, मुटुका १२ र मानसिक समस्याका दुई सय हाराहारी कैदीबन्दी छन्। गम्भीर खालका बिरामीलाई यहाँबाट विशेषज्ञ स्वास्थ्य सेवाका लागि अन्य सरकारी अस्पतालमा पठाइन्छ। अहिले १९ जना विभिन्न खालका बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवाका लागि राजधानीस्थित विभिन्न सरकारी अस्पतालमा पठाइएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले बताए।
कारागारमा सामूहिक मेस तथा बसोबास, जीवनशैली र खानपान नमिलेर पनि कैदीबन्दी बिरामी हुने गरेका छन्। कतिपय अवस्थामा उपचारकै क्रममा कैदीबन्दीको ज्यान गएको छ। केन्द्रीय कारागार अस्पतालमा २०७५ सालमा १८, २०७६ सालमा ३७, २०७७ सालमा ३१ र २०७८ सालमा ३८ जना कैदीबन्दी बिरामीको उपचारका क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा देशभरिका विभिन्न जेलमा उपचारका क्रममा ७८ कैदीबन्दीको मृत्यु भएको देखिन्छ। ‘धेरै कैदीबन्दीमा छाला र हाडजोर्नीसम्बन्धी समस्या पाइएको छ’, केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बुढाथोकीले भने। क्षयरोग लगायत समस्या पनि कैदीबन्दीमा देखिएको छ। केही महिनाअघि परीक्षण गर्दा २० जनामा क्षयरोगको संक्रमण देखिएको केन्द्रीय कारागार स्वास्थ्य शाखा प्रमुख कल्पना ज्ञवालीले बताइन्।नागरिक दैनिकमा खबर छ ।



