खबर

विश्व सिमसार दिवस:सिमसार क्षेत्र जोगाउन चुनौती

फाइल तस्वीर
काठमाडौँ
आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन।

पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिंदै गएका छन्। सिमसार क्षेत्रमा असंख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुंगी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताए। ‘तालतलैया, पोखरीको सांस्कृतिक महत्त्व पनि छ। यो मानवीय परम्परासँग जोडिएको छ।’ उनले भने, ‘कसैले माछा मार्ने, कसैले पूजा गर्ने लगायतका क्रियाकलाप भइरहेका हुन्छन्।’

सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्त्वपूर्ण भूमिका खेलेका उनी बताउँछन्। प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताए।

उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका ताल पुरिन लागेको बताए। ‘निकुञ्जभित्र हामीले बेलाबेला सरसफाइ गर्ने गरेका छौं ताल पुरिने समस्या छ।’ उनले भने, ‘निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ।’

उनले पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको बताए। सिमसारमा हुने घाँसको तत्त्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन्।

प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्क रूपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउँछन्।नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button