
लक्ष्मी उप्रेती
मेचीनगर ः झापाको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्तीपाइले रोग बिरुद्घको औषधि आफुले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गदैं आम नगरवासीलाई समेत सेवन गर्न आग्रह गरेकाछन्।
सोमबार नगरपालिकाको सभाकक्षमा आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारणका आम औषधि सेवन अभियान २०७९ को पालिकास्तरीय रणनीतिक योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा उनीहरुले यस्तो प्रतिवद्घता व्यक्त गदैं आम नगरवासीलाई समेत सेवन गर्न आग्रह गरेकाहुन् । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको उहाँहरुले प्रतिवद्घतासहित हस्ताक्षर समेत गरेकाछन् । यहि फागुन ११ गतेबाट हात्तीपाइले रोग बिरुद्घको औषधि खुवाउन हरेक गाउँघर र टोल टोलमा स्वास्थ्यकर्मीहरु जादैँछन् ।
हात्तीपाईले रोगलाई हाम्रो समूदायबाट हटाउनकालागि यो औषधि सेवन गर्नु बाहेक अर्काे विकल्प नरहेको र यी औषधिहरु पूर्णरुपमा सुरक्षित र यी औषधिहरुको कुनै पनि जटिल प्रकारका असर नदेखिएको भन्दैं उनीहरुले प्रत्येक नगरवासीलाई ढुक्क भएर औषधि सेवन गर्न भनेकाछन् । यो औषधि सेवन गरी आफु र समुदायलाई सुरक्षित गर्न सवै प्रतिबद्घ रहनु पर्ने बताउँदै उनीहरुले हरेक वडावासीले सेवन गरेको औषधिले आफुलाई मात्र नभएर आफु र आफ्नो परिवार र छिमेकका मानिसलाई सुरक्षित राख्नुपर्नेमा जोड दिएका थिए।

औषधि नखाइदिनु नै हात्तीपाइले रोग निवारणको ठूलो चूनौती रहेको स्वास्थ्य कार्यालय झापाको भनाई छ । ‘सरकारले हात्तीपाइले रोग निवारणका लागि यस रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालान गरेपनि सर्वसाधारणले औषधि नखाइदिनु सवैभन्दा ठुलो चूनौती भएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठको भनाई छ ।
औषधिप्रतिको गलत धारणा, मलाई रोग नै लागेको छैन्, त्यसैले औषधि आवश्यक छैन भन्ने गलत बुझाई, खानेले सधै खाने र नखाने समूहले कहिल्यै नखाने, धार्मिक तथा साँस्कृतिक परम्परा, लक्षण बिहिन रोगी वा बाहक रहनु, लामो समयदेखि औषधि वितरण गर्दा स्वास्थ्यकर्मी तथा अन्य निकायहरु थकित अभियानका मुख्यः चुनौती रहेको श्रेष्ठको भनाई छ ।
जनप्रतिनिधि तथाराजनीतिक दलका नेताहरुलाई अभिमुखीकरण तथा प्रतिबद्घ र जिम्मेवार बनाउने, (योजना र अभियान अवधिभर), स्थानीय अगुवा तथा धार्मिक गुरुहरुलाई अभिमुखिकरण तथा अभियानमा प्रत्यक्ष सहभागिता जनाउने, सञ्चारमाध्यमहरुसँग अन्तरक्रिया तथा सञ्चारमाध्यमको अधिकतम उपयोग, विद्यालय शिक्षा सञ्चालन, अनिवार्य हात्तीपाइले रोग निवारण कार्ड जारी गर्ने , स्वास्थ्यकर्मीहरु घरमा पुगेको स.केतका लागि भित्ते स्टिकर र औषधि आएका व्यक्तिको नङ्गमा मसी लगाउने कार्य नै अभियान सफल बनाउन सकिने उपायहरु रहेका उनको निष्कर्श छ ।

नेपालका कुल ७७ जिल्लाहरुमध्ये ६४ वटा जिल्ला जोखिममा रहेको र ५ वटा जोखिम नदेखिएको तथा हिमाली ८ वटा जिल्ला जोखिम मापन गर्न बाकी रहेको उहाँले प्रस्तुतीकरणमा देखाएका थिए । नेपालमा हात्तीपाइले रोगको अवस्थामा चर्चा गर्दैँ रोगको प्रीभालेन्स सन् २००१ मा १३ प्रतिशत र २०२० को प्रीभालेन्स १ दशमलव ४७ प्रतिशत तथा जोखिममा रहेको जनसंख्या २ दशमलव ५ करोड तथा सन् २०२२ मा करीव १ करोड जनसंख्या जोखिममा रहेको स्पष्ट पारेका थिए ।
विश्वमा हात्तीपाईले रोगको अवस्था हेर्दा संसारका ७२ मध्ये २८ संक्रमित देशहरुले आम औषधि सेवन कार्यक्रम सम्पन्न गरिसकेकाछन् । हाल ८५ दशमलव ९ करोड मानिसहरु यस रोगको जोखिममा छन् । सन् २००० सम्म १२ करोड मानिसहरु संक्रमित तथा ४ करोड मानिसहरु अंगभंग भएका, हाद संक्रमण दर ७४ प्रतिशत घटेर ५ करोड १४ लाख संक्रमित रहेको, दक्षिण पूर्वी एशियामा ५४ प्रतिशत रोगको भार रहेको, जसमध्ये ४० प्रतिशत भारतीयमा मात्र रहेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सहभागीहरुलाई जानकारी गराएका थिए ।
औषधि खानु हुँदैन भन्ने गलत धारणाका कारण यो अभियान सफल हुँन नसकेको उहाँको भनाई छ । अभियान सञ्चालन गरेर टोल टोलमा गएर यो औषधि खानुहोस भनेर दिँदासम्म मानिसले नखाइदिएका कारण यो रोग नियन्त्रणमा चूनौति बन्ने गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाइले रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गदैं आएको छ । ‘औषधि खुवाउने अभियान स्वास्थ्कर्मी र स्वय्म सेवक परिचालन गरेर मात्र लक्ष्य पुरा नहँुदो रहेछ ’मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले भनिन् —‘सरकारले प्रत्येक वर्ष अभियान सञ्चालन गरेपनि हात्तीपाइले रोग विरुद्घको औषधि सेवन गर्नुहुदैंन भन्ने गलत धारणाका कारण निक्कै समस्या हुने र अभियान सफल हुन सकेन् ।’
वरिष्ठ फिजिसियन डाक्टर पिताम्बर ठाकुरका अनुसार क्युलेक्स जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । डा ठाकुरका अनुसार हात्तीपाइले फाइलेरिया सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वाँन्क्रोफ्टी नामको परजीविबाट लाग्छ । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई वेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीहरुको अनुमान छ । स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तीपाइले रोग निवारणका लागि नेपाल सरकारको कार्यक्रम अन्तर्गत हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोशिल भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । जनचेतना र प्रचार प्रसारको अभावका कारण भन्दा पनि गलत धारणाका कारण धेरै जसो पढे लेखेका र शिक्षित वर्गले नै यो औषधि नखाइदिने शाखा संयोजक निरौलाको भनाई छ ।

अभियान लिएर औषधि खुवाउन गाउँ—गाउँ टोल—टोल पुगेर औषधि खानुहोस भनेर दिँदासम्म मानिसले खान नमान्ने गरेका कारण समस्या हुने गरेको स्वयम्सेविका आरती गौतम बताउँछिन्। जिल्ला स्वास्थय कार्यालयका अनुसार दुइ वर्ष मूनिका बालबालिका, गर्भवती, सुत्केरी, दीर्घरोगी र अन्य रोगको औषधि खाइरहेका विरामीले हात्तीपाइले रोगको औषधि खान हुँदैन र अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाले पनि यस्ता व्यक्तिलाई औषधि सेवन गराउनु हुँदैंन । स्वास्थ्यकर्मीहरु भन्छन् हात्तीपाइले रोगको एउटै उपाय भनेको औषधि सेवन नै हो तर, यो औषधि खाना खाएको दुइ घण्टा भित्रमा सेवन गर्नुपर्छ ।



