एजेन्सी – लेस्टर सिटी र लिड्स युनाइटेड यो सिजनको इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेका छन् । लेस्टरले लिगको अन्तिम खेलमा जित निकालेपनि अर्काे खेलमा एभर्टन विजयी भएपछि लेस्टर प्रिमियर लिग च्याम्पियन बनेको सात सिजनपछि रेलिगेसनमा परेको हो ।
किङ पावर स्टेडियम लेस्टरमा आइतबार राति भएको खेलमा लेस्टरको जितमा हार्भे बार्नेस र वोउट फाइसले गोल गरे । वेस्ट ह्याम युनाइटेडका पाब्लो फोर्नाल्सले एक गोल फर्काए ।
यस जितले लेस्टर ३८ खेलबाट ३४ अंक जोडेर १८औं स्थानमा रहँदै टोलीको ९ वर्षको प्रिमियर लिग बसाई अन्त्य भएको छ ।
लेस्टर सन् २०१५–१६ को च्याम्पियन टोली हो । यसपटक २ अंकले पछि रहँदै टोली रेलिगेसनमा पर्यो ।
यस्तै अर्काे खेलमा घरेलु मैदानमै टोटेनहम हटस्परसँग ४–१ ले पराजित हुँदै लिड्स युनाइटेड पनि रेलिगेसनमा परेको छ ।
लिड्सले यो सिजन प्रिमियर लिगमा ३८ खेलमा ७ जित, १० बराबरी र २१ हारको नतिजासहित ३१ अंक जोडेर १९औं स्थानमा रह्यो ।
लिड्स सन् २०२० मा प्रिमियर लिगमा बढुवा भएको थियो । यसअघि नै साउथह्याम्टन रेलिगेसनमा परिसकेको छ । एलान्ड रोड लिड्समा आइतबार राति भएको खेलमा टोटेनहमको जितमा ह्यारी केनले दुई तथा पेड्रो पोरो र लुकास मोउराले समान एक गोल गरे । लिड्सका ज्याक ह्यारीसनले एक गोल फर्काए।
शीर्ष चारमा रहँदै न्यूक्यासल युनाइटेडले अर्काे सिजनको च्याम्पियन्स पलग खेल्नेछ । लिभरपुल र ब्राइटनले युरोपा लिग खेल्दा सातौं स्थानमा रहेको एस्टन भिल्लाले युरोपा कन्फ्रेन्स लिग खेल्नेछ ।हाम्रो खेलकुदबाट ।



