मूल खबर

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

अनिल क्षेत्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने औपचारिक भ्रमणका क्रममा बहुप्रतिक्षित रहेको हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन सकेन । नेपालको मुख्य एजेण्डामा रहेका यी दुई विषयमा भारत सहमतिमा आउन नसकेपछि भ्रमणको क्रममा अन्य सातवटा विषयमा मात्र सम्झौता भएको छ । नेपालले महेन्द्रनगरबाट हवाई रुट मागेको थियो । तर, यसमा ठोस सहमति भएन । त्यस्तै, पञ्चेश्वर परियोजनाको पनि टुंगो लगाउनुपर्ने माग थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ले संयुक्त पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा यी विषयमा भारत सकारात्मक रहेको जानकारी दिँदै भन्नुभयो, ‘नेपालले थप एयर रुटका लागि पनि आग्रह गरेको थियो । एटिआर विमानका लागि द्विपक्षीय फ्लाइटका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गरेको छ ।

नेपाल र भारतबीच सातवटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार द्विपक्षीय सम्झौता भएको हो । बिहीबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलनमार्फत सहमति सार्वजनिक भएको हो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेर सहमतिबारे जानकारी दिनुभएको छ । नेपाल-भारत पारवहन सम्झौता नवीकरण, सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने सहमति भएको छ । त्यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४०.४९ बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पिडिए) भएको हो । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको छ । त्यस्तै, डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ ।

यी हुन् सम्झौता, शिलान्याय र उद्घाटन भएका विषय

सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोष्टको शिलान्यास ।
नेपालगञ्ज रुपैडिया इन्टिग्रेटेड चेकपोष्टको उद्घाटन ।
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको शिलान्यास ।
सिलीगुढी-झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारी ।
दोधारा चाँदनी इन्टिग्रेटेड चेकपोष्ट निर्माणको समझदारी ।
फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्टमा सम्झौता ।
क्रस बोर्डर पेमेन्टबारे समझदारी ।
बथनाहा विराटनगर कार्गो रेलको उद्घाटन ।
गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास ।
हिमालय टाइम्सबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button