मूल खबर

बागमती निःशुल्क शिक्षा भएको पालिका घोषणा

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको गाउँपालिका घोषणा गरिएको छ। चालु शैक्षिक सत्रमा बागमती प्रदेशमै पहिलो पटक बागमती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको गाउँपालिका घोषणा गरिएको हो।

सङ्घीय सरकारले आगामी २०८५ सालभित्र विद्यालय उमेरका सबै बालबालिका विद्यालयको पहुँचमा आइसक्ने नेपाललाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने कार्यक्रम रहेको छ। सो अभियान अन्तर्गत यस शैक्षिक सत्रमा बागमती प्रदेशका ११ वटा स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको स्थानीय तह घोषणा गर्ने कार्यक्रम छ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयको सहयोग तथा बागमती गाउँपालिकाको आयोजनामा बागमती गाउँपालिका कार्यालय परिसरमा भएको कार्यक्रममा गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको गाउँपालिका घोषणा गर्दै विद्यालयबाहिर रहेका बाँकी बालबालिकालाई खोजीनीति गरी उनीहरूको घरनजिक रहेका विद्यालयमा भर्ना गर्न जोड दिइएको थियो।

सङ्घीय सरकारको ससर्त अनुदान सहयोगमा सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाले विद्यालयले सर्वेक्षण गर्दा विद्यालय जाने उमेर समूहका २८५ जना बालबालिका विद्यालयबाहिर रहेका घोषणा कार्यक्रममा जानकारी गराइएको थियो।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ अनुसार कार्यक्रम अन्तर्गत चारदेखि १४ वर्ष उमेरसमूहका सबै बालबालिका विद्यालय भर्ना भई विद्यालयको पहुँचमा पुगेको हुनुपर्ने छ। कार्यक्रम अन्तर्गत विद्यालय भर्ना भएका विद्यार्थीलाई सरकारले छात्रवृत्तिबापत मसलन्द, पाठ्यपुस्तक, पोसाकसहित वार्षिक चार सय रुपियाँ उपलब्ध गराउने जानकारी गराउनुभयो। उहाँले विद्यालयसँग भएको स्रोतका आधारमा विद्यालयले चार सय रुपियाँमा थपेर दिन सक्ने भन्दै कार्यक्रमका क्रममा अभिभावक भेला, इसिडीमा शिक्षकलाई तालिम, आवश्यक सामग्रीलगायतका कार्य भएको बताउनुभयो।

यस शैक्षिक सत्रमा बागमती प्रदेशको रसुवाको गोसाइँकुण्ड, सिन्धुलीको दुधौली नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका, काभ्रेको बेथानचोक र खानीखोला गाउँपालिका, धादिङको धुनिबेँसी नगरपालिका र गल्छी गाउँपालिका, मकवानपुरको बागमती गाउँपालिकासहित कैलाश गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिन्धुपाल्चोकको बलेफी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको स्थानीय तह घोषणा गर्ने कार्यक्रम छ। दोलखा जिल्लाका सबै स्थानीय तह यसअघि नै अनिवार्य तथा निःशुल्क शिक्षा भएको स्थानीय तह घोषणा भइसकेको छ।

बागमती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको गाउँपालिका घोषणा कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, गाउँपालिका अध्यक्ष सर्केस घलानलगायतले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा, घोषणामा मात्र सीमित हुन नहुने भन्दै विद्यालयबाहिर रहेका बालबालिकालाई यसै शैक्षिक सत्रभित्र विद्यालय भर्ना गर्नुपर्ने चुनौती रहेको बताउनुभयो।

बागमती गाउँपालिकाभित्र ५० वटा सामुदायिक विद्यालयमा हाल करिब आठ हजार विद्यार्थी अध्ययनरत छन्।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button