खबर

दाहालको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्यांकन गर्नेछ : समाजवादी मोर्चा

पशुपति आर्यघाटमा सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिँदै विभिन्न दलका शीर्ष नेता र परिवारजन ।

काठमाडौं। समाजवादी मोर्चा, नेपालले नेकपा (माओवादी केन्द्र)का सल्लाहकार परिषद्का सदस्य एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ। बुधबार शोक विज्ञप्ति सार्वजनिक गर्दै मोर्चाले दाहालको निधनले स्तब्ध बनाएको उल्लेख गरेको छ। मोर्चाको शोक वक्तव्यमा दाहालको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्याङ्कन गर्ने उल्लेख गरिएको छ।

मोर्चाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘कमरेड सीता दाहाल ६९ वर्षको उमेरमा दिवंगत हुनुभएको खबरले हामी स्तब्ध र मर्माहत भएका छौं। कमरेड सीता दाहाल नेपाली कम्युनिस्ट आन्दोलनको एउटा अनुपम क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो। उहाँ सधै कर्तव्यनिष्ठ र वर्गपक्षधर रहनुभयो। राजनीतिको अति विषम परिस्थितिमा पनि उहाँ अविचलितरूपमा नेपाली क्रान्तिको पक्षमा दृढ भएर उभिनुभयो। उहाँले नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन आफ्नो परिवारको राजनीतिक योगदानलाई सुदृढ र सङ्गठित गर्न पनि मद्दत पु¥याउनुभयो। उहाँको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्याङ्कन गर्नेछ।’’

मोर्चाको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी, अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको छ।

‘‘समाजवादी मोर्चा नेपालको तर्फबाट हामी उहाँप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ। साथै सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षलगायत शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ’’, मोर्चाको विज्ञप्तिमा भनिएको छ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button