खबर

वैशाखयता सर्पदंशका कारण नौजनाको मृत्यु

काठमाडौं। वर्षा तथा गर्मीसँगै सर्पदंशको प्रकोप बढेको छ। सर्पदंशका कारण हालसम्म नौजनाको मृत्यु भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको हो। महाशाखाका अनुसार वैशाखयता सुरु भएको सर्पदंशका कारण नौ जनाको मृत्यु भइसकेको छ। सर्पदंशकै कारण नेपालमा हरेक वर्ष औसत १५ देखि २० जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।

काठमाडौंस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हालसम्म १ सय ५० जना उपचारका लागि पुगेका छन्। मंगलबारसम्ममा १५ जना भर्ना भई उपचारमा छन्। पछिल्ला दिनमा सर्पदंश बढेर दैनिक १० देखि १५ जना उपचारका लागि आउने गरेको अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन्।

सर्पको टोकाइका लागि अनुकूल मौसम थप दुईदेखि अढाइ महिना बाँकी रहेकाले यसको टोकाइबाट बच्न जुनोटिक तथा सरुवा रोग शाखाले अनुरोध गरेको छ। ‘थप दुईदेखि अढाइ महिना सर्पको प्रकोप बढ्ने मौसम छ, सबै जना सचेत भएर बस्नुपर्छ,’ जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझाले भने। नेपालमा बर्सेनि औसत १ हजार जना सर्पको टोकाइमा पर्ने गरेको जुनोटिक शाखाको तथ्यांक छ। तीमध्ये १५ देखि २० जनाको मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ। सर्पले टोकेका र टोकाइबाट मृत्यु भएकाहरूको यकिन तथ्यांक रिपोर्टिङ नहुनाले सर्पको टोकाइमा पर्नेहरूको यकिन तथ्यांक नभएको जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझा बताउँछन्।

उनका अनुसार टोकाइबाट मृत्यु भएकामध्ये ४० प्रतिशतको मृत्यु समुदायमै हुने, ४० प्रतिशतको बाटामै हुने र बाँकी २० प्रतिशतको जानकारी केन्द्रसम्म आइपुग्दैन। यो हिसाबले नेपालमा प्रतिवर्ष १ सय जनाको सर्पदशंका कारण मृत्यु भएको देख्न सकिन्छ।

चिकित्सकका अनुसार गर्मी या पानी परेको मौसममा सर्पहरू आफ्नो आहाराको खोजीमा जमिन बाहिर निस्कने, कुखुरा, भ्यागुता, मुसा खाने क्रममा उनीहरू कुखुराको खोर, मुसा भएका घर, झाडीजस्ता ठाउँमा पुग्छन्। यस्तो बेलामा मानिससँग जम्का भेट हुँदा मानिस सर्पको टोकाइमा पर्छन्।

पहाडी भेगको तुलनामा तराईका जिल्लामा विषालु सर्प धेरै हुने कारण सर्पको टोकाइबाट तराईका मानिसको वर्षेनि बढी मृत्यु हुन्छ। मृत्यु हुनेमा धेरैजसो कृषक हुने गरेको चिकित्सक बताउँछन्। झुल नलगाई सुत्ने, सुत्नुअघि कोठा चेक नगरी सुत्ने, झाडी या खेतबारीमा जाँदा प्लास्टिकको बुट या पन्जाको प्रयोग नगर्दा पनि सर्पले सजिलै टोक्ने गर्छ।

अहिले पनि सर्पको टोकाइ, उपचार र सर्पको प्रकारको विषयमा समुदायमा हुने मिथ्या र भ्रमका कारण समयमै उपचार नगराउँदा धेरैको मृत्यु हुने गरेको डा. ओझाले बताए। कुनै पनि सर्पले टोकिसकेपछि सर्प विषालु हो यो गैरविषालु भन्ने विषयमा जानकारी नहुने तर समुदायमा अहिले पनि आफ्नै अनुमानको भरमा उपचार गर्ने, धामीझाँक्रीको भरमा उपचार गर्ने, सिन्दूर, झारजस्ता जडीबुटी लगाउने गर्नाले उपचारमा पुग्न ढिला भई धेरैको मृत्यु हुने गरेको डा. ओझा बताउँछन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button