खबर

चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

नेपाल–चीन सिमानास्थित हिल्सामा रहेको यारी नाका भन्सार कार्यालय । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख १२ गते । नेपाल–चीन सिमानास्थित हिल्सामा रहेको यारी नाका भन्सार कार्यालय चार महिनापछि पुनः सञ्चालनमा आएको छ । बिहीबार कार्यालय प्रमुख रामराज जैसी सिमकोटबाट हिल्सा पुगेपछि बन्द रहेको कार्यालय सञ्चालनमा आएको हो ।

कार्यालय प्रमुख जैसीका अनुसार गत पुसको पहिलो हप्तादेखि अत्यधिक चिसोका कारण ताक्लाकोटबाट सामान निर्यात नहुने भएपछि भन्सार कार्यालय बन्द गरिएको थियो । हिउँदपछि कार्यालय खुलेको पहिलो दिन पाँच सय रुपैयाँ राजस्व असुल भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि हुम्लावासीहरू कामका लागि ताक्लाकोट जान थाले पनि सामान आयात हुन सकेको थिएन । नारा लेक सडकमा हिउँ जमेकाले यातायात सेवा अवरुद्ध भएको थियो । बिहीबार हिउँ पन्छाएपछि यातायात सेवा सुचारु भई भन्सार कार्यालय सञ्चालनमा आएको हो । अब नियमित रूपमा कार्यालय सञ्चालनमा आउने र सामान आयात पनि सुरु हुने अपेक्षा गरिएको छ । गत पुससम्म १७ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

यसैबीच, अनुगमनका लागि हिल्सा पुगेका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले त्यहाँ रहेको अध्यागमन कार्यालय विगत पाँच महिनादेखि बन्द अवस्थामा रहेको जानकारी दिनुभयो । केही दिनअघि कार्यालय प्रमुख जिल्ला फर्किए पनि पुनः हिल्सा नफर्किएको उहाँले बताउनुभयो । हिउँदभरि कार्यालय बन्द हुँदा कर्मचारीहरू घरमै रहेका थिए ।

पर्यटकीय सिजन सुरु हुन लाग्दा पनि अध्यागमन कार्यालय सञ्चालनमा नआएकाले यसको आवश्यक पहल गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । हिल्सामा भने भन्सार कार्यालय बिहीबारदेखि सञ्चालनमा आएको छ ।

हाल हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा होटल व्यवसायीहरू बसोबास गर्दै आएका छन् । साथै, हुम्लाका युवायुवतीहरू काम तथा व्यापारका लागि चीनको ताक्लाकोट जान सुरु गरिसकेका छन् ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button