खबर

छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ

जिल्ला प्रशासन कार्यालय पर्सा । फाइल तस्बिर

कन्हैयालाल केशरी
पर्सा । झुठो विवरण पेश गरी जन्मको आधारमा २०६३ सालमा नेपालको नागरिकता लिने एक दम्पतीले जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा न. १३ बस्ने भारतीय नागरिक दिनेश पटवाले २०६३ सालमा झुठो विवरण पेश गरी जन्मको आधारमा नागरिकता लिएको र सोही नागरिकताको आधारमा पटवाकी श्रीमती रितादेवी पटवाले वैवाहिक अंगीकृत नागरिकता बनाउनुभएको थियो ।

श्रीमान् श्रीमती दुबैले नेपालको नागरिकता लिएपछि असार २४ गते श्रीमान् श्रीमती पटवा जिल्ला प्रशासन कार्यालय पर्साबाट छोराको नागरिकता बनाउन आएको अवस्थामा शंकास्पद गतिविधि देखिएपछि सुरक्षामा खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले निगरानी गरेको थियो ।

चेकजाँच गर्दा दिनेशकुमार पटवाका साथमा भारतीय कायकर विभागको कार्ड बरामद भएपछि आवश्यक कारवाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

उहाँले भीडभाडमा भारतीय नमागरिकसमेतले कर्मचारीहरुलाई झुक्याएर कीर्ते तथा नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिन आउन थालेपछि विशेष निगरानीका साथ नागरिकता वितरणलाई कडाई गरिएको बताउनुभयो ।

नयाँ ऐन अनुसार जन्मको आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिन आउनेहरुको भीड थामिनसकिने भएपछि बिचौलियाहरुको छलखेल पनि बढेको छ ।

प्रमाण नपुगेका एक वा दुई दिनमा नागरिकता बनाइदिने भनी बिचौलियाहरुले सेवाग्रहीहरुसँग आफू खुशीको रकम लिने गरेको कर्मचारी स्रोतको भनाइ छ। यस्ता बिचौलियाहरुले आफ्नो पहुँच भित्रसम्म रहेको र कर्मचारीहरुको मिलोमतोमा नागरिकता एक वा दुई दिनमा नागरिकता उपलब्ध गराई दिने भनी २५ हजार रुपियाँसम्म लिने गरेको चर्चा छ ।

यसरी रकम लिनेमा पर्सा जिल्लाबाट नागरिकता लिएर भारत वा काठमाडौंमा बसोबास गर्ने वा अध्ययनका लागि भारत जाने बढिरहेको पाइएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button