कृषि र किसानखबर

लम्पी स्किन राेगबाट ४० अर्बकाे क्षति

काठमाडाैं । नेपालका पशुमा ‘लम्पी स्किन’ रोग देखापरेको तीन वर्ष भयो तर यसबीचमा रोकथामको प्रभावकारी पहल हुन नसक्दा महामारीको रूप लिएको छ। नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका पशुमा लम्पी स्किन रोग देखिएको थियो। अहिले लम्पीले प्रभाव नपारेको कुनै जिल्ला छैन।

आर्थिक वर्ष २०७७/७८ मा आठ जिल्लाका ११ पालिकामा फैलिँदा यसको क्षति दर धेरै थिएन। आव २०७८/७९ मा नौ जिल्लाका ११ पालिकामा देखियो। आव २०७९/८० सकिँदा ७७ जिल्लाका ५४२ पालिकामा यो सङ्क्रमण फैलिएको छ। स्थानीय तह तथा प्रदेशबाट एकीकृत तथ्याङ्क सङ्कलन नहुँदा रोगले पारेको क्षतिको यकिन विवरणसमेत सार्वजनिक हुन सकेको छैन।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार मसान्तसम्म ७७ जिल्लाका सात लाख ९९ हजार ११७ पशु यो रोगबाट सङ्क्रमित छन् भने २८ हजार ४२४ पशु मरेका छन्। भैँसीको तुलनामा गाईगोरुमा धेरै सङ्क्रमण देखिएको छ र मर्नेमा पनि भैँसीको सङ्ख्या निकै कम छ।

यो त पशुको मृत्युको सङ्ख्या मात्रै हो। यसबाट किसानमा परेको मार र राज्यले बेहोर्ने आर्थिक भार बेग्लै छ। नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले लम्पीबाट असार मसान्तसम्ममा ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ रुपियाँको क्षति पुर्याएको जानकारी दिनुभयो।

एउटा पशुमा लम्पीको सङ्क्रमण भएपछि ४९ हजार १३५ रुपियाँको क्षति पुग्ने र त्यही सङ्क्रमितको सङ्ख्यालाई गुणन गर्दा सो क्षतिको आर्थिक विवरण तयार पारिएको उहाँले उल्लेख गर्नुभयो।

पशु चकित्सकका अनुसार लम्पी लागिसकेपछि निको भए पनि उक्त पशुको क्षमता ८० प्रतिशत नाश भइसकेको हुन्छ। त्यसले पूर्ववत् जीवन जिउन र काम दिन सक्दैन। त्यसैले सङ्क्रमित भएको विवरणका आधारमा आर्थिक नोक्सानीको हिसाब निकालिएको हो।

पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले रोग लागेर निको भइहाले पनि पशुले साँढे खोज्न लामो समय लाग्ने बताउनुभयो। लामो बेतान्तर भई गाईभैँसीको दुध उत्पादनमा ४० देखि ५० प्रतिशतसम्म कमी हुनेछ। यसले समेत क्षतिको आकडालाई बढाउने उहाँले उल्लेख गर्नुभयो।

केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सङ्क्रमणको कारणले किसानले अर्बौंको क्षति बेहोरिसकेकाले तत्कालै क्षतिपूर्तिको व्यवस्थापन मिलाउन अनुरोध गर्नुभयो। गाेरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button