मूल खबर

तार र पोलको व्यवस्थापन गर्न सरोकारवालालाई मेचीनगर नगरपालिकाको निर्देशन

लक्ष्मी उप्रेती

मेचीनगरः मेचीनगर नगरपालिकाले नगरका विभिन्न स्थान र सडकभरि जथाभावी लत्रिएर दुर्घटनाका कारण बन्दै आएको केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु व्यवस्थापन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । तार र पोलको व्यवस्थापन गर्न सरोकारवालालाई नगरपालिकाले निर्देशन समेत दिएको छ ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सरोकारवाला निकायबीच विहीबार भएको छलफलमा कुनै पनि बहानामा केबुल टिभी तथा इन्टरनेट प्रदायक कम्पनीले पन्छिन नपाउने भन्दै सडकमा लत्रिएका तार केबुल टिभी र ईन्टरनेट कम्पनीले व्यबस्थापन गर्नुपर्ने बताए।

उनले गल्ती निजी कम्पनीले गर्ने अनि त्यसको दोष स्थानीय सरकारलाई दिने प्रवृत्ति बढेकाले तत्काल तार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएकाछन् । नगरका विभिन्न ठाउँ र सडकमा अव्यस्थित रुपमा गुजुल्टो बनाएर लतारिएका नेपाल टेलिकम, विद्युत, केबुल टिभी, तथा विभिन्न इन्टरनेट प्रदायक कम्पनीका तारहरुले दैनिक दुर्घटना बढाएको भन्दैं स्थानीयले त्यसको व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गरिदिन नगरपालिकालाई आग्रह गरेका थिए ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले अव्यवस्थित पोल, तार तथा पाइपका कारण मेचीनगर कुरुप बन्दै गएको र बजार क्षेत्रमा विस्तार गरिएको टेलिफोन, इन्टरनेट तथा विभिन्न केबल, खानेपानीको पाईप र पोलका कारण मेचीनगरक्षेत्र कुरुप बन्दै गएका कारण यसको उचित व्यवस्थापन र सौन्दर्यकरणका लागि सरोकार निकाय तत्काल लाग्नुपर्ने बताइन् । उनले एउटा पोलले कति भारसम्म थाम्न सक्ने वा पोलको भार क्षमता कति हो स्पष्ट हुनुपर्ने बताइन् ।

बजार क्षेत्रको घर÷घर हुँदै टागिएका टेलिफोन तथा इन्टरनेटको तार र खानेपानीको पाईपका कारण बजारको सौन्दर्यतामा नै असर परेको उनको भनाई थियो । अब हरेक त्यस्ता कम्पनि स्थानीय सरकार मेचीनगगरमा सूचीकृत हुनुपर्ने, नियम अनुसार राजस्व बुझाउनुपर्ने समेत स्पष्ट पारिन्। मेचीनगर नगरपालिका क्षेत्रमै पर्ने इटाभट्टा, धुलावारी धाइजन चारहआलीबजार क्षेत्रको भित्री सडकमा गाडिएका ठुला÷ठुला पोल तथा अव्यवस्थित तारका कारण सवारी दुर्घटनाको जोखिम समेत बढाएको उनको भनाई थियो । पोलको क्षमताभन्दा बढी तार टागिएका कारण पोल ढल्किने, लड्ने जीर्णहुने उनको भनाई छ ।

अनुमति र सम्झौतासमेत नगरी नियम विपरीत इन्टरनेट प्रदायक कम्पनी र केबुल टिभीले विद्युत तथा नेपाल टेलिकमको खम्बामा जथाभावी तार राखेको नेपाल टेलिकमका काजीमान विश्वकर्माले छलफलमा जानकारी गराएका थिए । उनले केही केही कम्पनिले मात्रै सम्झौता गरे पनि अन्यले जथाभावी तार राख्ने र पटक पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेको बताए । पोल प्रयोग गरे वापत नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई वार्षिकरुपमा १८ करोड रुपैयाँभन्दा बढी रकम तिरेको स्पष्ट पारेका थिए । कसैले पनि बिना अनुमती कसैको पोल प्रयोग गर्न नपाईने उनको भनाई छ ।

नेपाल टेलिकमको पोल प्रयोग गरेवापत प्रतिपोल ३ सय ५० रुपैयाँ र त्यसको १३ प्रतिशत भ्याट समेत तिर्नपर्ने उनको भनाई छ । तर, नेपाल टेलिकमसँग धेरैले सम्झौता गरे पनि सम्झौता अनुसार काम नगरेका कारण अब कारवाही गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button