मूल खबर

कोसी प्रदेश सरकारबारे आज फैसला सुनाइने

काठमाडौं । कोसी प्रदेश सरकारको संवैधानिक वैधानिकतासम्बन्धी विवादको सुनुवाई बुधबार सकिएको छ । उक्त विवादको फैसला भने आज विहीबार सुनाउने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपछि बुधबार हेर्दाहेर्दैमा राखेर आजको लागि फैसला सारिएको हो । सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोसी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ ।

कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिनुभएको हो । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गर्नुभएको छ ।

यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुख्यमन्त्री नियुक्ति गर्दाका सक्कलै फाइल झिकाएको थियो ।

कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमा संवैधानिक व्याख्याको प्रश्न निहित रहेको भन्दै त्यसको निरूपणका लागि सो मुद्दा सोमबार पूर्ण इजलासमा पठाइएपछि मंगलबारदेखि सुनुवाई भएको थियो ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button