खबर

‘ल्हारक्याल साझा व्यक्ति’

ललितपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषका उपाध्यक्ष नियुक्त डा. ल्हारक्याल लामा सबै पार्टीको साझा व्यक्ति दाबी गर्नुभएको छ। किरात राई यायोक्खाको ३६ औँ स्थापना दिवसका उपलक्ष्यमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले लामालाई सबै पार्टीले साझा व्यक्तिका रूपमा लिनुपर्ने बताउनुभयो।

“हामीले जुन व्यक्तिलाई नियुक्त ग-यौँ। उहाँ (ल्हारक्याल लामा) राष्ट्रिय सहमतिका पात्र हुनुहुन्छ। उहाँलाई कांग्रेसले २०५८ सालमा गुम्बा विकास समितिको अध्यक्ष नियुक्त ग-यो। एमालेले संविधान सभा सदस्य र अर्थ राज्यमन्त्री बनायो। माओवादीबाट संविधान सभा सदस्य बन्नुभयो,” किरातीले भन्नुभयो, “उहाँ राष्ट्रिय सहमतिको नाम हो। अन्तर्राष्ट्रिय प्रभाव राख्न सक्ने, यति धेरै उचाइ प्राप्त गरिसकेको व्यक्ति कोषको यति सानो आलाङ्कारिक पदमा जानुभयो। यसमा नियोजित ढङ्गले विवादित बनाइयो।”

लामालाई थुप्रै आरोप लागे पनि राज्यका सबै निकायले सफाइ दिइसकेको बताउनुभयो । एक समय आरोपित भएको व्यक्ति निर्दोष भई सक्दासमेत सधैँ दोषी भन्न नमिल्ने उहाँले प्रस्ट पार्नुभयो।

कार्यक्रमका अवसरमा किराती राई समुदायका पत्रकार दिपिन राई, श्रीशीशा राई, भद्रगोल किराती, लेखक डा. शुकराज राई, खुक्सङ खम्बू, कलाकार रूपकुमार राईलगायत दर्जनभन्दा बढी प्रतिभालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button