मूल खबर

क्षतिपूर्ति नदिने म्यानपावर कम्पनी खारेज

काठमाडौँ । वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डिस्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गरेको जनाएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकिता गर्दा पनि क्षतिपूर्ति नदिएपछि एक/एक लाख रुपियाँ जरिबानासहित म्यानपावरलाई खारेज गरिएको हो ।

यी म्यानपावरले वैदेशिक रोजगारीमा पठाएका श्रमिकले विदेशमा करार सम्झौता अनुसार तलब र सेवा सुविधा केही नपाई विदेशबाट दुःख पाएर स्वदेश फर्किंदासमेत उक्त म्यानपावरले क्षतिपूर्ति दिएको थिएन तर पटक पटक ताकिता गर्दा पनि निर्देशन पालना नगरी अटेरी गरेपछि विभागले वैदेशिक रोजगार ऐन अनुसार पीडितको क्षतिपूर्तिबापतको रकम संस्थाको धरौटी रकमबाट भराई एक लाख रुपियाँ जरिबानासहित विदेशमा श्रमिक पठाउने अनुमति नै खारेज गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार डिलक्स म्यानपावरले बाइक राइडर र ट्याक्सीचालकमा पठाएका श्रमिक सम्झौता अनुसारको काम नपाएपछि अलपत्र परेका थिए ।

त्यस्तै डिस्क्वारले साइप्रसमा पठाएका दुई जना महिला श्रमिक सम्झौता अनुसार काम नभएपछि स्वदेश फर्किएका थिए । वैदेशिक रोजगार विभागसँग श्रमिक पठाउन अनुमति लिएका म्यानपावर कम्पनीले पठाएका श्रमिकले करार अनुसार काम र तलब नपाएर फर्किएमा क्षतिपूर्ति सम्बन्धित म्यानपावर कम्पनीले नै दिनुपर्ने व्यवस्था वैदेशिक रोजगार ऐनले गरेको छ ।

विभागले दिएको निर्देशनमा अटेरी गरेपछि संस्थाले धरौटी राखेको रकमबाटै क्षतिपूर्ति भराउने र कारबाहीसहित म्यानपावर नै खारेजीको निर्णय गरेको जनाएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button