मूल खबर

पूर्वसूचनाले जोगियो मानवीय क्षति

चाँदनी हमाल

काठमाडौँ । पूर्वसूचना छिटो प्राप्त हुँदा मुस्ताङको कागबेनीमा ठुलो जिउधनको क्षति हुनबाट जोगिएको छ। आइतबार राति करिब साढे ७ बजे मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीलाई माथिल्लो लेकको जोङगाउँबाट फोन आयो। फोनमा भनिएको थियो, “ठुलो पानी प-यो, यता ठुलो बाढी आएको छ, त्यता सतर्क रहनुहोला।”

प्रमुख जिल्ला अधिकारी केसीले पाएको सूचना तुरुन्तै तल्लो भेगका घरपझोङ गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्षलाई दिएर गाउँलेलाई सतर्क रहन भन्नुभयो। बारागुङ गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले भन्नुभयो, “सिडियो साबले भनेलगत्तै सबै गाउँलेलाई सूचना दियौँ।”

त्यसपछि थालमा भात बोकेर खान बसेकाले घर छाडे, ओछ्यान पसेका उठे अनि बालबच्चा च्यापेर माथि डाँडामा उक्ले। त्यसको लगभग आधा घण्टा नबित्दै बाढीले कागबेनी हान्यो। त्यसपछि गाउँको टुप्पोमा रहेको पुल र भौतिक संरचना बगाउँदै बाढी गाउँ पसेको गुरुङले बताउनुभयो। छिटो गर्दा गाउँलेले घरमा भएका पैसा र गरगहना निकाल्न भ्याए। अरू सबै भौतिक तथा पशुधन बाढीले बगायो।

उत्तरतिरको लेकमा शनिबारदेखि वर्षा भइरहेको थियो। मुक्तिनाथ मन्दिरको देब्रे क्षेत्रमा रहेको लेकका जोङ र छेँगुर गाउँबिचबाट बग्ने खोलामा छेउछाउको पहिरो मिसिएपछि भेलले पहिरोको रूप लिएको स्थानीयले बताएका छन्। त्यो खोला तल आएर कागखोलासँग मिसिएपछि थप ठुलो बाढी बनेर गाउँ पसेको हो। प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो, “पूर्वसूचनालाई बेवास्ता गरेको भए धेरैको ज्यान जान्थ्यो तर धन्न मैले बेलैमा सबैलाई भन्न भ्याएँ र सबैको ज्यान जोगियो।”

अत्यधिक भौतिक क्षति

बाढीले भौतिक क्षति अत्यधिक भएको प्रजिअ केसीले बताउनुभयो। लेदो बाढीले भत्किएका र पुरिएका एक सय घरपरिवार त्रासमा छन्। विस्थापितलाई सुरक्षित स्थानमा राखिएको छ। उहाँका अनुसार बारागुङका ३५ घर क्षतिग्रस्त छन्। बाढीले होटल, विद्यालयका छात्रावास, गोठ र धर्मशाला गरेर करिब ३५ घरमा क्षति पुगेको छ। क्षति भएको भवन तथा भौतिक संरचना, पशुचौपाया एवं सवारीसाधन हेर्दा एक अर्ब हाराहारीको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ।

बाढीले गाउँको शिरमा रहेको लोमाथाङ जाने पक्की पुल, तीन वटा काठेपुल र एउटा झोलुङ्गे पुल बगाएको छ। खानेपानीका संरचना र बिजुलीका पोल ढलेपछि विद्युत् अवरुद्ध छ। उद्धारका लागि प्रयोग हुन सक्ने एक्साभेटर पुरिएको छ। चारपाङ्ग्रेसहितका सवारी पुरिएका छन्। तत्काल गाउँ वारपार गर्न नेपाली सेनाले अस्थायी कच्ची पुल बनाएको छ। खानेपानी सुचारु गर्न नसकिएको उहाँले बताउनुभयो। गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार एउटा वडा कार्यालय भवन पनि बगाएको छ। उहाँका अनुसार गाउँको तल कालीगण्डकी छ। बाढीको लेदोले गाउँ पूरै पुरिएको छ। बचेका घर खनीखोस्री गरेर सामान निकाल्न खोज्दा लेदोमा डोजर चलेको छैन। डोजर नचलेपछि हातले जति सकिन्छ, जोगिएका धनसारका सामान सार्न सुरक्षाकर्मी र गाउँले जुटेका छन्।

मजदुरको बिचल्ली

मुस्ताङमा काम गर्न पुगेका १५० जना मजदुरको पनि बिचल्ली भएको छ। अलपत्र परेका मजदुरलाई जोमसोम पु-याएर समाज घरमा खानेबस्ने व्यवस्था मिलाइएको छ। घरबार पूरै बगेका गाउँलेलाई गाउँपालिका भवनमा बस्ने र खाने व्यवस्था मिलाइएको छ। केही जोगिएका आफन्तकहाँ शरण लिन पुगेका छन्। पूर्ण पीडित भएकालाई थप राहत तथा उद्धारका लागि गृह मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले पहल गरिरहेको छ।

घरपझोङ गाउँपालिकामा पनि बाढीले कटान गरेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो। छिमेकी गाउँपालिकालाई आवश्यक सहयोग गर्न अवरुद्ध बाटो खुलाउन पहल गरिरहेको उहाँले बताउनुभयो। (म्याग्दीबाट ठाकुरप्रसाद आचार्य र अमृतप्रसाद पौडेलको सहयोगमा)गोरखापत्र दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button