खेलकुद

एसियाली खेलकुद : अनुभव हासिल गर्ने ठुलो मञ्च

यलु जोशी
काठमाडौँ । पछाडिबाट तार जोडिएको बाक्लो सेतो पोसाकसहित तरबार बोकेर फेन्सिङका छ खेलाडी हाङजाउ एसियाडका लागि कडा अभ्यास गरिरहेका छन्। खेलाडीको तरबारले विपक्षीको ड्रेसमा छुँदा ‘टुट’ गरेर सँगै रहेको स्कोरबोर्डबाट आवाज आउँछ।

एसियाडमा छाप छोड्ने लक्ष्यसहित सर्बियाका प्रशिक्षक ‘डुमा’ को रेखदेखमा प्रशिक्षण भइरहेको छ। एसियाडमा पुरुषतर्फ सेभर इभेन्टस्मा आर्मीका उपेन्द्र शाही, एपिएफका राजेन्द्र गजुरेल र पायस योञ्जन तथा महिलातर्फ फोयल इभेन्टस्मा बागमती प्रदेशकी गोमा आचार्य, एपिएफकी अनिता अधिकारी र एपिएफकै मन्दिरा थापाले प्रतिस्पर्धा गर्नुहुने छ। वीर गणेशमानसिंह राष्ट्रिय प्रतियोगिताबाट बन्द प्रशिक्षणमा परेकाहरूबाट एसियाड जाने खेलाडीहरूको चयन भएको हो।

फेन्सिङलाई जीवन मान्ने विदेशी प्रशिक्षक डुमाले प्रशिक्षण राम्रो भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ, “मैले टिम समालेको करिब तीन साता मात्र भयो। अलि फरक तरिकाले सिकाउन खोज्दै छु। एसियाड जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न केही फरक अभ्यासको आवश्यकता देखेको छु। किनभने नेपाली फेन्सिङ खेलाडीको आधारभूत ज्ञान राम्रो छ तर टेक्निक र रणनीतिक खेलमा भने अझै सिक्नु जरुरी छ।”

फेन्सिङमा जापान, चीन, सिङ्गापुर, दक्षिण कोरिया धेरै राम्रो छ। नेपालमा फेन्सिङको इतिहास लामो छैन। नेपाल यस खेलमा अहिले पनि बामे सर्दै छ। त्यसैले सो प्रतियोगिताबाट नेपालका खेलाडीको लक्ष्य पदकभन्दा पनि विश्वस्तरीय खेलाडीविरुद्ध राम्रो प्रदर्शन गरेर ठुलो अनुभव प्राप्त गर्ने नै हुने छ।

प्रशिक्षक तथा फेन्सिङ सङ्घका सचिव अभिशेष कार्कीले एसियाडका लागि प्रशिक्षण गत जेठमा नै सुरु भएको तर तीन हप्तापछि प्रशिक्षक डुमा आएपछि खेलाडीहरूको मनोबल बढेको जानकारी दिनुभयो। यद्यपि छ/सात महिना तयारी गरेर एसियाडमा पदक ल्याउँछु भन्नु दिवास्वप्न मात्र भएको तर विश्व वरीयतामा उक्लिन सकिने सम्भावनाचाहिँ रहेको प्रशिक्षक कार्कीको भनाइ छ। प्रशिक्षक कार्की नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी पनि हुनुहुन्छ। भारतको कोलकातामा फेन्सिङ सिकेका कार्कीले सन् २०१० मा चेन्नईमा भएको दक्षिण एसियाली फेन्सिङ च्याम्पियनसिप पदक जित्नुभएको थियो। नेपालले फेन्सिङको एसियन सिनियर/जुनियर, विश्व च्याम्पियनसिपलगायतका प्रतियोगितामा सहभागिता जनाइसकेको छ। एसियाली खेलकुदमा पहिलो पटक सन् २०१४ मा नेपालको फेन्सिङ टिमले भाग लिएको हो।

सन् २०१९ मा नेपालमा भएको पछिल्लो सागमा फेन्सिङले नेपाललाई चार रजत र छ कांस्य पदक दिलाएको थियो। जुन अहिलेसम्मकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय उपलब्धि हो। यसै गरी थाइल्यान्डमा भएको सियो ओपन च्याम्पियनसिपमा एक रजत र एक कांस्य तथा दक्षिण एसियाली च्याम्पियनसिपमा एक कांस्य पनि नेपाली फेन्सिङको गर्विलो पदकका रूपमा रहेका छन्।

एसियाडमा सन् २०२४ को पेरिस ओलम्पिकका लागि छात्रवृत्ति पाउनुभएका पायस योञ्जनले पनि खेल्दै हुनुहुन्छ। सागमा पनि नेपालका लागि पदक जित्ने फेन्सर पायसले विदेशी कोचले सिकाउनुभएकाले प्रशिक्षण राम्रो भएको र नयाँ नयाँ टेक्निक र ट्याक्टिकल कुरा सिकाइरहनुभएको जानकारी दिनुभयो। उहाँले गत महिनामात्र इटालीमा भएको वल्र्ड च्याम्पियनसिपबाट पनि धेरै कुरा सिक्ने अवसर पाएकाले एसियाडमा ती गल्तीमा सुधार गरेर खेल्ने बताउनुभयो। फोयल इभेन्टस्मा एसियाडमा प्रतिनिधित्व गर्न लाग्नुभएको राष्ट्रिय महिला खेलाडी अनिता अधिकारीले पछिल्लो सागमा रजत पदक हासिल गर्नुभएको थियो। उहाँ एसियाडमा पदक जित्नेमा भने विश्वस्त हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “उत्कृष्ट खेल्ने प्रयास गर्छु। पदक नजिते पनि एक दुई देशका खेलाडीलाई हराउँछु भन्ने विश्वास छ।”

कसरी खेलिन्छ फेन्सिङ ?

फेन्सिङ खेल नेपालमा खासै चर्चामा आउँदैन। यो खेलमा तीन ‘इभेन्ट’ छन्। फोयल, एपे र सेभर। पोसाकदेखि तरबारसम्म तार र स्कोरबोर्ड ‘कनेक्टेड’ हुन्छ। प्रशिक्षक कार्कीका अनुसार एपमा तरबारको तौल सात सयदेखि आठ सय ग्राम हुन्छ। यसको अङ्क पाउन ७५० ग्रामको प्रेसर दिएपछि मात्र बत्ती बल्छ। यसमा शरीरको सबै भागलाई लक्ष्य बनाउन सकिन्छ।

यो खेलका हरेक विधामा मास्क (टाउको ढाकिने) छुट्टाछुट्टै हुन्छ। तीन मिनेटको खेल हुन्छ तर अन्तिममा बराबरी भएको खण्डमा एक मिनेटको अर्को बाउट हुन्छ। अर्को इभेन्ट सेभर हो। यसमा इलेक्ट्रोनिक ज्याकेट हुन्छ। ज्याकेट र मास्क, हात टार्गेट एरिया हुन्। यसमा प्रेसर चाहिन्न। छोए मात्र पुग्छ। यो फेन्सिङमा सबैभन्दा तेज गतिमा खेलिने इभेन्ट हो। यसमा तीन मिनेट समय दिएको हुन्छ । यसमा राइट अफ वे अर्थात् जसले पहिला अट्याक ग-यो उसलाई प्राथमिकता दिइन्छ। अट्याक मिस ग-यो भने अर्कोले प्राथमिकता पाउँछ।

त्यस्तै अर्को इभेन्ट फोयल हो। यसमा टार्गेट क्षेत्र थोरै हुँदा प्वाइन्ट लिन समय लाग्छ। ५०० ग्रामको प्रेसर चाहिन्छ। यो विधा सेभरसँग धेरै मिल्छ।गोरखापत्र दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button