मूल खबर

त्रिपाल र म्याटको भरमा रात काट्दै रिगाउँका विस्थापित

सीताराम अधिकारी
धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–१ रिगाउँबासी घर छोडेको एक साता बितिसक्दा पनि त्रिपालको भरमा बस्न बाध्य छन् ।

बालबालिका, वृद्धहरू र सुत्केरी महिलाहरूसमेत त्रिपालको भरमा रात बिताइरहेकाले स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समितिको ध्यान जान नसकेपछि सामान्य घटना भन्न थालेका छन् । रिगाउँमा गाउँको माथिबाट गाउँ बग्ने गरी धाँजा फाटेपछि गाउँ छाड्दा घर फर्किन नसकेको अन्जिता तामाङ बताउनुहुन्छ ।

सबै तामाङ समुदायको बसोवास ररहेको सो गाउँमा ५३ घर परिवारले त्रिपालमा रात काटिरहेको स्थानीय पास्टर खसार्की तामाङले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाले जमिन भासिएर विस्थापित भएको तेस्रो दिन त्रिपाल उपलब्ध गराएको थियो तर हालसम्म पनि उनीहरूको वैकल्पिक व्यवस्थाबारे स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले बेवास्ता गर्दा विस्थापितहरू समस्यामा परिरहेका छन् ।

गाउँबासी धेरैजसो छिमेकी टोलमा आफन्तको घर छेउमा त्रिपाल हालेर बसेका छन् भने केही बारीको पाटामा त्रिपालको भरमा रात काटिरहेको देखिएको छ । ३ दिन लगातारको वर्षाका कारण साउन २९ गते जमिन भासिएपछि गाउँबासी विस्थापित भएका थिए । दिउँसो छिटो भाग्न सक्नेहरू आफ्नो घरमा गए पनि सरसामान भने झिक्न सकेका छैनन् । गाउँ पहिरो लान्छ कि भनेर त्रासमा बसिरहेको गाउँबासीको भनाइ छ । केही परिवार सामुदायिक भवनमा बसेका छन् भने केही परिवार रिगाउँ माविको पुरानो भवनमा आश्रय लिएर बसिरहेकाले वडाले गाउँपालिकामा पटकपटक भने पनि समस्याको समाधान हुने गरी काम नभएको वडा अध्यक्षबहादुर तामाङले बताउनुभयो ।

जमिन चिरिएर भासिएको जमिनको भाग बढ्दै गएमा गाउँ नै पहिरोमा परेर ठूलो क्षति हुने भएकाले गाउँबासी घरमा बस्न नसकेको स्थानीय शिक्षक राजेन्द्र जोशीले टेलिफोनबाट जानकारी दिनुभयो । त्रिपालमुनिको बासका कारण सर्पबिच्छीले टोक्ने डर भएकोले डराएर बस्नुपर्ने गाउँबासीको गुुनासो र आक्रोश छ। त्रिपाल र म्याट बाँड्नुबाहेक कुनै काम नगरेको गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले जोखिममा बसेका गाउँबासीका लागि कुनै व्यवस्था गरेको छैन।

गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा र उपाध्यक्ष रामेश्वर सिंखडा गाउँबासी पहिरोले राती घरमा नसुते पनि दिउँसो खेतबारीमा जाने गरेका कारण अब घटना सामान्य भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे जोखिम कम हुँदै गएकाले अब प्राविधिकको रिपोर्ट आएपछि मात्र व्यवस्थापनका लागि लाग्ने बताउनुहुन्छ । अहिले पनि पानी परिरहेको छ ।

भासिएको स्थानमा भू तथा जलाधार कार्यालयका प्राविधिकको टोलीले रिपोर्ट तयार गरिरहेको भन्दै अध्यक्ष लामाले जिल्लाको टोली ९ गते अनुगमनमा जाने कुरा भएको जानकारी दिनुभयो ।

बस्तीसँगै रहेको रिगाउँ माध्यमिक विद्यालय र गाउँको खानेपानी ट्याङ्की पनि जोखिममा छ । विद्यालयको २ वटा भवनमध्ये २० कोठे नयाँ भवन र २ वर्षअघि निर्माण गरिएको खानेपानीको ट्याङ्की पनि बगाउने जोखिम छ । यो गाउँ जिल्ला सदरमुकाम धादिङबेंसीबाट करिब ५४ किलोमिटरको उत्तरमा पर्छ । वर्षाले सडक बिग्रिएका कारण पैदल हिँडेर एक दिनमा पुग्न सकिन्छ ।नेपाल समाचारपत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button