खबर

वर्षामा वन्यजन्तु संरक्षण चुनौती

चाँदनी हमाल
काठमाडौँ । वर्षा लागेयता देशका विभिन्न राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ। निरन्तरको वर्षाले संरक्षण क्षेत्रभित्रको भौगोलिक तथा संरचनागत अवस्थामा परिवर्तन गर्ने भएकाले पनि संरक्षणमा चुनौती थपिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

चोरी सिकारको चुनौतीदेखि वन्यजन्तुको वस्तुस्थितिको अनुगमन गर्न नसकिनेसम्मको समस्या आउने गरेको विभागका महानिर्देशक अजय कार्कीले बताउनुभयो। उहाँका अनुसार बाढी पसेर वनभित्रको जमिन हिलाम्य हुने, बुट्यान र झाडी अग्ला हुने, संरक्षण क्षेत्रभित्रका स्थानीय खोलाको बाढीले घाँसेमैदान नष्ट हुने, वन्यजन्तु बस्ने ओढार तथा थुम्काथुम्की पहिरोले भत्कने तथा कच्ची बाटो हराउने समस्या हुन्छ।

कार्कीले भन्नुभयो, “चोरी सिकारको चुनौती उच्च हुन्छ किनभने जङ्गलका ढड्डी झार बढेर यति ठुलो हुन्छ कि हात्ती नै जङ्गल पस्न पनि कठिन हुन्छ।” जताततै ओसिलो, धापिलो जमिनका कारण हात्ती पनि वर्षाका बेला वन डुल्न मान्दैनन्। जसका कारण संरक्षण क्षेत्रमा चोरी सिकारीको चलखेल बढ्यो कि भन्ने चिन्ताले संरक्षणकर्मीलाई सताउने गर्छ।

कता के प्रविधि राखेर के गरिरहेको छ कि भन्ने अनुगमन गर्न गाह्रो हुने गरेको उहाँ बताउनुहुन्छ। यीबाहेक बाढी र वर्षाका कारण घाइते भएका जनावरसम्म पुगेर उद्धार तथा उपचार गर्न सकिन्न। वर्षाको मौसममा संरक्षणका उपायको कार्यान्वयन अन्योलमै हुने गरेको छ। संरक्षण क्षेत्रको काम आफ्नो क्षेत्रमा रहेका वनसम्पदा र वन्यजन्तुको वर्तमान वस्तुस्थिति अद्यावधिक गर्नु र बिग्रेभत्केका भए सम्भार गर्नु हो तर वर्षामा जनावरको पीडामा मलम लगाउन संरक्षणकर्मी समयमै पुग्न सक्दैनन्।

अझ सुत्केरी आमा र बच्चाको अवस्था झनै दयनीय हुन्छ। पाटेबाघ होस् वा एकसिङ्गे गैँडा नै किन नहोस्, सुत्केरी भएको समयमा उनीहरूको शक्ति क्षीण हुन्छ। यस्तोमा वर्षाले बारम्बार बासस्थान परिवर्तन गर्नुपर्दा ती वन्यजन्तु र बच्चाको जिउज्यान र स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको कार्की औँल्याउनुहुन्छ। साना बच्चालाई त बाढीले बगाउने गरेको पनि छ। कतिपय ठुला वन्यजन्तुलाई पनि बगाएर भारत पु-याउने गरेको छ। त्यस्तोमा कुनै मानिसले देखेमा उद्धार गरेर संरक्षण गरिन्छ। नदेखेरै कतिपय बच्चा बाढीले बगाउँदा संरक्षित वन्यजन्तुको सङ्ख्यामै असर पुग्ने गरेको छ।

देशकै ठुलो चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन पानी परिरहेका बेला बढी कठिन हुने गरेको बताउनुहुन्छ तर यसपालि चितवनमा ठुलो बाढी नआएकाले त्यति गाह्रो भएको छैन। केही स्थानमा नारायणीले कटान गरेको छ। राप्ती र रियुखोलामा पनि बाढी त्यति ठुलो आएको छैन। अनुगमका क्रममा बाघ र गैँडा सहजै नदी पार गरिरहेको देखिएको उहाँले बताउनुभयो।

जङ्गली हात्ती पनि ओहोरदोहोर गरिरहेका देखिन्छन्। चितवन सबैभन्दा धेरै बाघ र गैँडा रहेको संरक्षण क्षेत्र हो। यहाँ विपत्लगायत विभिन्न कारणले गत आर्थिक वर्षमा बाघ र गैँडालगायत २२२ वटा वन्यजन्तु तथा पन्छीको उद्धार गरिएको थियो।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी बाढी संरक्षण क्षेत्रभित्र नपसेको बताउनुहुन्छ। मध्यवर्ती क्षेत्रको बस्तीमा भने बाढी पसेको छ। वर्षाको समयमा अनुगमनमा कठिनाइ हुने गरेको उहाँले पनि स्वीकार गर्नुभयो।

जङ्गली हात्तीको आवतजावत अत्यधिक हुने बर्दियामा वर्षाका बेला त्यो क्रम झनै बढी हुन्छ। वर्षामा वनभित्रको आहार खान गाह्रो भएकाले वा बस्तीका खेतीबाली खान पल्केका जङ्गली हात्ती गाउँ पस्छन्। उहाँले भन्नुभयो, “त्यसले मानव–वन्यजन्तु द्वन्द्व बेला बेलामा निम्त्याउने गरेको छ।” खाद्यान्न जोगाउन मानिसले लखेट्ने गर्दा हात्तीले मान्छे मार्ने गरेका छन्।

निकुञ्ज क्षेत्रमा करिब १२० वटा जङ्गली हात्ती रहेको अनुमान छ। चितवनपछि धेरै बाघ रहेको बर्दियामा आहार प्रजातिका चित्तललगायतका जनावर वर्षामा घाँसेमैदान हिलाम्य भएपछि बाली खानका लागि गाउँ पस्ने गरेका छन्। त्यसको पछिपछि बाघ पनि गाउँ पस्दा त्यहाँ पनि मानव–वन्यजन्तु द्वन्द्व सिर्जना हुने गरेको छ। वर्षाको प्रभावले बाढी पस्ने संरक्षित क्षेत्रका रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष र शुक्लाफाँटा निकुञ्जमा वन्यजन्तुका बास हरेक वर्षामा उठ्ने गरेको छ। यो वर्ष कोशीमा अत्यधिक बाढी आएपछि ब्यारेजका ५६ वटै ढोका खोलियो। कोशीटप्पु आरक्षका प्रमुख रमेश यादवका अनुसार बाढीले सकारात्मक र नकारात्मक दुवै असर देखाउँछ।

यादव भन्नुहुन्छ, “बाढीले ल्याएको मलिलो बाटोमा राम्रा र नयाँ घाँस उम्रेर घाँसेमैदान सुधार गर्छ।” तर जतातततै पानी हुँदा त्यहाँको रैथाने अर्ना समस्यामा पर्छन्। दिनभर पानी र हिलोमा रमाए पनि रातको बेला सुक्खा ठाउँ खोज्न जङ्गलमा भौँतारिने गर्छन्। साना बच्चाका लागि लामो चिसोले असर पु-याउँछ। बाढी बढेपछि माथि उकासिएको स्परमा वन्यजन्तु बस्ने र गाउँ पस्ने खतरा रहने यादवले बताउनुभयो।

पर्सा राष्ट्रिय निकुञ्जमा भने वर्षा लागेपछि हाइसन्चो हुने गरेको छ। निकुञ्जका प्रमुख अशोक रामका अनुसार हिउँदभर पानी बोकेर वन्यजन्तुलाई खुवाउँदाको हैरानी वर्षा लागेपछि हट्छ। उहाँले भन्नुभयो, “कहाँ पानी पुगेन भनेर पोखरी चहार्नु पर्दैन, त्यसैले पनि हामीलाई एक प्रकारले आनन्द हुन्छ।” स्थानीय खोलामा सामान्य बाढी आउनेबाहेक अरू असर पुग्दैन। विभाग अन्तर्गत देशभर १२ वटा निकुञ्ज, दुई वटा आरक्ष र दुई वटा प्राणी उद्यान रहेका छन्।गोरखपत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button