मूल खबर

रुसले माग्यो मेट्रो रेलको प्रस्ताव

काठमाडौँ । रुसले नेपालसँग काठमाडौँ मेट्रो परियोजनालगायत मुलुकको रेलवे आयोजनासम्बन्धी प्रस्ताव माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग सोमबार भएको भेटमा नेपालका लागि रुसका राजदूत अलेक्सी नोमिकोसहितको टोलीले सो प्रस्ताव माग गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो।

सचिव शर्माका अनुसार सो अवसरमा भेटमा नेपालको सडक तथा सुरुङ मार्ग निर्माणबारे समेत छलफल भएको थियो। केही समयमै रुसको संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको भ्रमणअघि काठमाडौँ मेट्रो रेल परियोजना, पूर्व पश्चिम रेलमार्गलगायत विभिन्न भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली मन्त्रालयमा छलफल गर्न आउनुभएको हो।

छलफलमा मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने गरी मेट्रो रेलको प्रस्ताव गर्नुभएको सचिव शर्माले जानकारी दिनुभयो।

सचिव शर्माका अनुसार मन्त्री ज्वालाको प्रस्तावमा रसियन पक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेलवे कम्पनी तयार रहेको बताएका थिए। त्यसका लागि उहाँहरूले ठोस प्रस्ताव माग गर्नुभएको हो। सो अवसरमा रसियन पक्षले पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएका थिए। रसियन पक्षको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सचिव शर्माले बताउनुभयो। सो अवसरमा मन्त्री ज्वालाले नेपालका सयौँ इन्जिनियरले रुसबाट तालिम र शिक्षा लिएको र उनीहरूको दक्षताले नेपाललाई ठुलो सहयोग पुगेको बताउनुभएको थियो। रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ। रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन्। जापान तथा भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button