
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अधिकांश व्यक्तिहरू भरिया र व्यवस्थापन गर्नेहरू मात्रै प्रहरीको फन्दामा परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई पक्राउ गरेसँगै सो काण्डमा पक्राउ पर्नेहरूको संख्या ३० पुगे पनि लगानीकर्ता फेला पार्न सकेको छैन ।
सोही प्रकरणमा शनिबार विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी र नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका हुन् । सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कै शीर्ष नेताहरूको नाम जोडिएको यो घटनामा ओसारपसार र व्यवस्थापनको काम गर्दै आएकाहरूलाई पक्राउ गरे पनि यसका मालिकको पत्ता लाग्न किन सकेन भन्ने प्रश्न उठेको छ ।
गत साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङ ‘व्यवस्थापक’को भूमिकामा रहेको सीआईबीले निष्कर्ष निकालेको छ । सीआईबीका अनुसार हङकङबाट चिनियाँ तस्करले ल्याउने सुन काठमाडौं उपत्यकामा व्यवस्थापन गर्ने काममा दावाको संलग्नता रहेको छ । माओवादी केन्द्रका नेताहरू र तीनका छोराहरूको नाम जोडिएको उक्त प्रकरणमा कसको लगानी थियो भन्ने अझै पुष्टि भइनसकेको सीआईबीका अधिकारीहरू बताउँछन् ।
सो प्रकरणमा बयानका लागि बोलाइएका नेतापुत्र दीपेश पुनलाई समेत कारबाही हुनेमा शंका उत्पन्न भएको छ । त्यस्तै, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई दावा छिरिङसँग सम्बन्ध नदेखेको भन्दै बयान लिएर फर्काएको छ भने माओवादी नेताहरू वर्षमान पुन, नन्दकिशोर पुनसहित उनीहरूसँग जोडिएकालाई प्रहरीले माथिको दबाबमा अनुसन्धानको दायरामा ल्याउन नसकेको भन्दै सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलका सांसदहरूले नै टिप्पणी गर्दै आएका छन् ।
नेपालमा सुन तस्करीमा संलग्न केही चिनियाँ देश फर्किसकेको पाइएपछि त्यहाँको पनि सहयोग लिन इन्टरपोल शाखामार्फत् सीआईबीले इन्टरपोललाई पत्राचार गरेको जानए पनि ठूला तस्करहरू फेला पार्न सकेको छैन । सीआईबीका अनुसन्धान अधिकृतहरूका अनुसार सुनमा दावाको लगानी पुष्टि भएको छैन । काठमाडौंमा बसेर परी आउँदा ‘जे पनि गर्ने’ स्वभावका दावाले सुन तस्करीमा संलग्नहरूका लागि फ्ल्याट खोजिदिने, युवती मिलाइदिने र ठमेलस्थित होटल भियानामा खाने–बस्ने व्यवस्था मिलाउने गरेका थिए । होटेल भियना उनकी पत्नी अमला रोकाको नाममा छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार अवैध सुनको व्यवस्थापन र सुन तस्करीहरूको सेवा सुविधाको व्यवस्था गरिदिएबापत दावाले सुन कारोबारीबाट कमिसन लिने गरेको छ । लामो समयदेखि काठमाडौंमा बस्दै आएका दावालाई राजस्व अनुसन्धान विभागको टोलीले गत साउन १४ मा पक्राउ गरेको थियो ।
क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं भित्रिएको सूचना प्राप्त भएपछि राजस्वको टोलीले गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको सुनसहित १ सय ५० किलोभन्दा बढी धातु बरामद गरेको थियो ।न्यूज अफ नेपाल



