खबर

छ हजार वडामा पुग्यो माओवादी अभियान

वीरेन्द्र ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा माओवादी नेता कार्यकर्ता पुगेका छन्। तीन महिनासम्म चल्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ वडामा अहिले माओवादीको अभियान चलिरहेको छ। ४०१ वडामा भने अभियान सुरु हुन सकेको छैन ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत भदौ १६ गते छ हजार ७४३ वडाको एकै पटक उद्घाटन गर्नुभएको थियो। अभियान उद्घाटनपछि ७५३ स्थानीय तहका सबै वडाले आ–आफ्नो अनुकूलमा अभियान सुरु गर्ने कार्यतालिका बनाएका थिए। कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका ४०१ वडामा अभियान उद्घाटन हुन नसकेको नेताहरूले बताउनुभएको छ।

‘जन जनमा माओवादी, घर घरमा माओवादी’ भन्ने मूल नारासाथ माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको हो। कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले एक हजार १५७ वडामध्ये एक सय वडामा अभियान उद्घाटन गर्न नसकिएको बताउनुभयो। ती वडामा पार्टी सङ्गठन भए पनि कार्यक्रम भव्य र व्यवस्थित बनाउन लागिएकाले उद्घाटन गर्न ढिला भएको दाबी गर्नुभयो।

यस्तै मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलका अनुसार मधेशमा ११० वडामा अभियान सुरु हुन बाँकी छ। कार्यक्रम बनाएर त्यहाँका वडामा पुगिने उहाँले बताउनुभयो। बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलका अनुसार एक हजार १२१ वडामध्ये एक हजार ३२ वडामा मात्रै अभियान सञ्चालन भइरहेको छ। ८९ वडामा अझै अभियान उद्घाटन हुन सकेको छैन। पौडेलले भन्नुभयो, “हामीले बैठक बसेर अभियान सञ्चालन नभएका वडामा तत्काल उद्घाटन गरेर सुचारु गर्न सर्कुलरमार्फत निर्देशन दिएका छौँ।”

माओवादी गण्डकी प्रदेशका इन्चार्ज एवं पार्टी सचिव देवेन्द्र पौडेलले आफ्नो प्रदेशका सबै वडामा अभियान उद्घाटन गरिसकेको बताउनुभयो। “हामीले गण्डकी प्रदेशका सबै वडामा अभियान उद्घाटन गरेर कार्यक्रम जारी राखेका छौँ। गत भदौ १६ गते उद्घाटन हुन नसकेको वडामा भोलिपल्ट र पर्सिपल्ट उद्घाटन गरियो,” पौडेलले भन्नुभयो, “पहिलो पटक माओवादी मनाङ र मुस्ताङका सबै वडामा पुगेर अभियान उद्घाटन गर्‍यो।”

कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले कर्णालीका ७१८ वडामध्ये १९ वडा मात्रै उद्घाटन गर्न बाँकी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले पार्टीको अभियान पालिका केन्द्रित गरेर उद्घाटन गरियो। त्यसपछि कतिपय वडा छुट्न पुगेका छन्। अब ती सबै वडामा तत्काल अभियान उद्घाटन गरेर कार्यक्रम बनाउने छौँ।”

सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिप्रसाद चौधरीले प्रदेशका सबै वडामा अभियान उद्घाटन भई कार्यक्रम जारी रहेको बताउनुभयो। प्रदेशका सबै पालिका र वडालाई समेट्ने गरी कार्यक्रम बनाएकाले सबै वडा समेटेको चौधरीले प्रस्ट पार्नुभयो। तर पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै वडाको अभियान केन्द्रबाट उद्घाटन भइसकेकाले बाँकी भएका वडाले आफ्नो अनुकूलमा अभियान चलाउने बताउनुभयो।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button