
विष्णुप्रसाद देवकोटा
डोल्पा । १६ दिनदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा मेजर पण्डितको शव फेला परेको हो ।
भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवमल सार्कीले चिन्ढेबगर नदी किनारमा लास देखेपछि खदांगस्थित प्रहरी चौकीमा खबर गर्नुभएको थियो । दुई वटा ढुंगाको खोल्सामा शव देखेपछि आफूले बेपत्ता मेजर हुन् कि भनेर जाल खेल्न छाडेर चौकीमा खबर गरेको उहाँले बताउनुभयो ।
सार्कीले खबर गर्नेबित्तिकै खदांग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा थाहा दिएको थियो । प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमान्डमा उद्धार सामग्री सहित नेपाली सेनाका मेजर रवि शाहको टोली शव फेला परेको चिन्ढेबगरमा पुगेको थियो ।
प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपती ध्रुव कार्कीको टोलीसमेत शव भेटिएको ठाउँमा पुगेपछि भेरीको किनारमा ढुंगाको खोचमा रहेको शव बाहिर निकालेर हेर्दा र मेजर पण्डितले लगाएका घडी, औंठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले बताउनुभयो।
यस्तै, शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीयहरु समेतको उपस्थितिमा शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको समेत उहाँले बताउनुभयो ।
शव पहिचानका लागि मेजर पण्डितका दाई कुमार पण्डितसमेत घटनास्थलमा पुग्नुभएको थियो । काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता हुनुभएको थियो ।गोरखापत्र अनलाइन



