मूल खबर

सुन तस्करी प्रकरण : पचास जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

मित्र भण्डारी
काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। सिनामङ्गलबाट बरामद भएको ६० केजी सुन तस्करी र त्यससँग जोडिएका अरू घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा त्यस्तो सिफारिस गरिएको हो।

मुद्दा चलाउन सिफारिस गरिएकामा २७ जना नेपाली र २३ जना विदेशी नागरिक छन्। उनीहरूबाट तीन अर्ब ५० करोड रुपियाँ बिगो माग दाबी गर्न पनि सिफारिस गरिएको छ।

अनुसन्धानका क्रममा २३ नेपाली र नौ विदेशी गरी ३२ जना पक्राउ परेका थिए। सोही सुन तस्करीमा संलग्न १४ जना विदेशी र चार नेपाली नागरिकविरुद्ध इन्टरपोलमार्फत पक्राउका लागि सूचना जारी भइसकेको सिआइबीले जनाएको छ।

सिआइबीले चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ तस्करीको मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको छ। दावाकी पत्नी अमला रोकासहित १८ जनालाई फरार प्रतिवादी करार गरी प्रतिवेदन बुझाइएको छ।

सिआइबीले अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका आठ जना कर्मचारी, चार जना भन्सार एजेन्ट, तीन जना कार्गो एजेन्ट, ट्याक्सीचालक, भाषा अनुवादक, कम्पनी खोल्ने दुई जना, सामान व्यवस्थापन गर्ने दुई जना तथा सुन कारोबारमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। सिआइबीले यो सुन तस्करीमा नेपाली, भारतीय र चिनियाँ गरी अन्तरदेशीय सङ्गठित अपराध देखिएको निष्कर्ष निकालेको छ।

हङकङबाट एयर प्यासेफिकको विमान हुँदै गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १५५ थान ‘ब्रेक सु’ को प्याडभित्र लुकाएर तस्करी भएको सुन साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यसको अनुसन्धानको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरोलाई दिइएको थियो। सिआइबीले उक्त सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदनसँगै पक्राउ परेका ३२ जना प्रतिवादीलाई समेत सरकारी वकिलको कार्यालयमा बुझाएको छ। उनीहरूलाई बुधबार नै जिल्ला अदालत काठमाडौँमा प्रस्तुत गरी म्याद थप गरिएको छ।

अनुसन्धान प्रतिवेदन बुझाउनुअघि बुधबार सिआइबीले पत्रकार सम्मेलन गरी अनुसन्धानबारे जानकारी गराएको थियो। सो अवसरमा सिआइबी प्रमुख किरण वज्राचार्यले उक्त सुन तस्करीमा अन्तरदेशीय गिरोहले शृङ्खलाबद्ध रूपमा तस्करी गरेको पाइएको जानकारी दिनुभयो।

अनुसन्धान प्रतिवेदनमा चिनियाँ समूहले स्कुटरको ‘ब्रेक सु’ मार्फत पछिल्लो एक वर्षमा मात्र ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ। जसमध्ये ६० किलो सुन मात्र राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

वज्राचार्यले भन्नुभयो, “सुन तस्करीमा संलग्न गिरोहले नेपालमा विभिन्न सात वटा कम्पनी खोलेको र रेडिलिङ्कको नाममा मात्र दुई हजार ३२४ थान ब्रेक सुमा ३०२ किलो सुन तस्करी गरेको देखियो।”

उहाँले उक्त सुन तस्करी प्रकरणमा संलग्न प्रतिवादीविरुद्ध तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपियाँको बिगो मागसहित भन्सार ऐन, सङ्गठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैङ्क ऐन, मुलुकी अपराध संहिताको एकीकृत कसुर, नागरिक ऐन, राहदानी ऐन र अध्यागमन ऐनविपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता गर्न माग गरिएको पनि जानकारी दिनुभयो।

सो सुन तस्करीबारे अनुसन्धान गर्न सिआइबीले ४२ जनाको विशेष टोलीलाई ३५ दिनसम्म लगाएको थियो। तस्करीको सुनको अनुसन्धानमा खास गरी तीन टोली बनाएर अधिकृतहरू खटिएको प्रहरीले जनाएको छ। जसमा फस्र्ट टेक्निकल टिम, एक्स्पोर्ट टिम र इन्गेस्टिभ टिम बनाइएको थियो।

सुन तस्करी गर्न खडा गरिएका रेडी ट्रेडसहितका सात कम्पनीविरुद्ध मुद्दा दायर गर्न राय दिएको छ। यी कम्पनीमार्फत ६० किलो ७१६ ग्रामबाहेक थप ३०२.०६२ किलो सुन ल्याएको ब्युरोले जनाएको छ। तस्करीको सुन बुझाउने र लिने व्यक्तिको पहिचान गोप्य राख्न भुक्तानी दिँदा विशेष नम्बर र नोटमा लेखिएको नम्बरका आधारमा लेनदेन गर्ने गरेको पाइएको छ। अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार चिनियाँ गिरोहको नाइकेले ह्वाट्स एपमार्फत नेपाली रुपियाँको नोट पठाउने गरेको र त्यो नम्बरको नोट लिएर जाने व्यक्तिलाई सुन पठाउने गरेको अनुसन्धानबाट खुलेको छ।गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button