मूल खबर

प्रदेशको योजनाले गाउँमा झगडा

भगीरथ भण्डारी
इलाम । इलामको फाकफोकथुम गाउँपालिका–७ का शशीधर खनालले ३० वर्ष अघिदेखि प्रयोग गरिरहेको खानेपानी अब आउने हो कि हैन टुंगो छैन । २०५० सालमा मेची पहाडी भालुखोप खानेपानी आयोजनामार्फत निर्माण गरिएको खानेपानी अहिले आएर अर्कै गाउँतिर जाने भएपछि खानेपानी अन्योल बनेको छ । खनाल मात्रै होइन सिंगो गाउँका ४८ परिवारले प्रयोग गरिरहेको खानेपानी आयोजना के हुन्छ भन्नेमा दोधार सिर्जना भएको छ ।

एकतप्पाका ४८ भन्दा बढी घर परिवारले प्रयोग गरिरहेको पानी अर्कै वडातिर जाने भएपछि दुई गाउँबिच झगडा सुरु भएको छ । लामो समयदेखि खानेपानी प्रयोग गरिरहेको मुहानबाट अर्को वडामा जाने गरी आयोजना निर्माण भएसँगै दुई गाउँबिच झगडा सुरु भएको हो । कोशी प्रदेशले कुनै अध्ययनबिना नै हचुवाका तालमा खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजनका कारण झगडाको स्थित आएको हो । विराटनगरमा बसेर योजना छुट्याउने र गाउँको अवस्था नबुझी बजेट विनियोजन गर्ने गरेका कारण दुई गाउँबिच झगडा उत्पन्न भएको हो ।

३० वर्षअघि मेची पहाडी भालुखोप खानेपानी आयोजनामार्फत निर्माण गरिएको खानेपानीको मुहानबाटै कोशी प्रदेशबाट खत्री गाउँ खानेपानी आयोजना निर्माण भएपछि दुई गाउँबिच झगडा उत्पन्न भएको हो । सिकारी भन्ज्याङ आसपासका घरपरिवारसहित सिंह देवी माध्यमिक विद्यालय, आयुर्वेद औषधालयसहित ४८ घर परिवारले प्रयोग गरिरहेको खानेपानी अर्को वडामा जाने भए पनि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको खनाल बत्ताउँछन् । उनले ५० सालदेखि खाइरहेको पानी प्रदेशले अर्कोतिर पारेको गाउँ नै समस्यामा परेको हो ।

फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले फाकफोकथुम गाउँपालिका–२ खत्री गाउँमा निर्माण भएको खानेपानी आयोजना पनि विवादमा छ । वडा–७ ले प्रयोग गर्दै गरेको खानेपानी प्रदेशमार्फत वडा–२ मा पनि त्यही मुहानबाट पानी ल्याएपछि अहिले विवादमा रहेको बताइन् । विवादमा नै भएको आयोजनामा यस वर्ष पनि प्रदेशबाट बजेट परेको छ । स्थानीय तहसँग समन्वय नगरी प्रदेशले आयोजना हाल्ने गरेको कारण विवादमा आएको बताइन् । आयोजना सञ्चालन हुँदा हामीलाई पत्तै हुँदैन र एकै ठाउँबाट दुईतिर आयोजना परेको कारण विवाद आउने गरेको भन्दै उपाध्यक्ष राईले स्थानीय तहसँग समन्वय भएको भए विवादमा आउने आयोजनालाई सुरुमै समाधान निकालेर काम गर्न सकिने बताइन् ।

फाकफोकथुम गाउँपालिका–७ का वडा सदस्य डिकबहादुर बराइलीले लामो समयदेखि एउटा गाउँले खाइरहेको पानीको मुहान अर्को गाउँमा पर्नु दुःखद भएको बताए । उनले कुनै पनि आयोजना निर्माण गर्नुअघि त्यहाँको अवस्था के छ भनेर नबुझी काम थाल्नुले झगडा उत्पन्न भएको बताए । ‘प्रशस्त खानेपानीको मुहान थिए भने पनि फेरि आयोजनामार्फत व्यवस्थापन गर्न सकिन्थ्यो, उनले भने, ‘मुहान पनि खासै छैनन् ३० वर्ष पहिलेदेखि प्रयोग गरिरहेको खानेपानी अहिले विवादमा आएपछि ठुलो समस्या उत्पन्न भएको बताए ।

विवाद सुरु भएको खानेपानीको लागि कोशी प्रदेशबाट चालू आवमा वडा–२ को खत्रीगाउँ खानेपानी आयोजनामा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै, गाउँपालिकामा खानेपानी आयोजना निर्माणका लागि वडा–७ मा एकतप्पा खानेपानी आयोजनामा ७ लाख, वडा–४ को बरबोटे खानेपानी योजनामा ५ लाख, र वडा–१ को कमेरे जरिंगे खाम्वाङ तल्लो बेहोरा खानेपानी योजनामा १३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।राजधानी दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button