कृषि र किसान

केरा बेचेर घरखर्चको जोहो

गाईघाट । बेलका नगरपालिका–६, लामीडाँडा गाउँका पूर्णबहादुर राईले स्थानीय सिसुवा बजारमा लामो समयदेखि केरा बिक्री गर्दै आउनुभएको छ । आफ्नो भिरालो बारीमा उत्पादन गरेको केराको घरी नै काटेर बजारमा ल्याएर बिक्री गर्दा राम्रै मुनाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।

त्यसै गरी वडा नं. ५ मैनी फक्टपुरकी पदममाया राई पनि घर खर्चको गर्जाे टार्ने रकमको जोहो केराकै व्यापारबाट हुने गरेको बताउनुहुन्छ । पूर्णबहादुर र पदममाया राई मात्र हैन बेलका नगरपालिका–८ को कोठु, सोमबारे र डुडखोला क्षेत्रका अधिकांश किसानको घर खर्चको स्थायी आय स्रोत भनेकै केरा खेती हुन पुगेको स्थानीय बासिन्दा बताउँछन् ।

किसानले उत्पादन गरेको मालभोग, चिनिचम्पा, मर्चमाने, कालिकेशरी, झप्री, जाहाजी र धुस्रे प्रजातिका केराले बजारमा राम्रै मूल्य पाउने गरेको स्थानीय सिसुवा बजारका व्यापारी हीरालाल साह बताउनुहुन्छ । गाउँका गरिब किसानले जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय नगरपालिकाबाट समेत कुनै प्रकारको आर्थिक र प्राविधिक सहयोग पाउन नसकेको बेलका–५ का किसान पूर्णबहादुरको गुनासो छ ।

केराको बोटमा विभिन्न प्रकारका गभारो लागेर फल लाग्न नदिने गरेको तर जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट भने गभारो मार्ने कीटनाशक औषधीसमेत आपूmहरूले पाउन नसकेको बेलका–५, लामीडाँडा गाउँका अर्का किसान कमलबहादुर राईको भनाइ छ । आफ्नै परम्परागत प्रणाली अनुसार गरिएको केरा खेतीबाट नुन, तेल मसला, चिनी र नानी बाबुको पढाइ खर्च धान्दै आएको उहाँको भनाइ छ ।

बजारमा केराको प्रजाति र कोसाको साइज अनुसार मूल्य निर्धारण हुने गरेको छ । काँचो केराको घरी नै बिक्री गर्ने गरिएकाले पाकेको केराको जस्तो दर्जन वा एक खापको यति रुपियाँ भन्ने हुँदैन । मालभोग, चिनिचम्पा, घिउ केराको मूल्य अलिक महँगो र कालीकेशरी, मर्चमाने, झप्री आदि केराको मूल्य केही कम हुने गरेको डुडखोलाका किसान पकुमाया राईले बताउनुभयो । मदनभण्डारी राजमार्गका कारण बेलका नगरपालिकाको दुर्गम क्षेत्रमा उत्पादन हुने केराको व्यापारका लागि निकै सहजता भएको छ । सुपडो, सिसुवा, रामपुर, गुरुङ चौरी, डुडखोला, सोमबारे र कोठुलगायतका साना बजारमा समेत केराको व्यापार राम्रो हुने गरेकाले किसानलाई आफ्नो उत्पादनलाई बिक्रीका लागि हाटबजारको कुनै समस्या नभएको स्थानीय किसान भरत कार्कीले बताउनुभयो । बेलका नगरपालिकाको पहाडी क्षेत्रमा केरा खेती गर्दै आएका किसानलाई आधुनिक प्रणालीको सिप, ज्ञान, मल र औषधीलगायतको सहयोग उपलब्ध गराउन सके सो क्षेत्र केरा खेतीका लागि एउटा गतिलो पकेट क्षेत्र हुने स्थानीय कृषकको भनाइ छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button