
काठमाडौं । रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित भएको छ । चौधरीविरुद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको हो ।
सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगित परेको हो। गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतान्नुभएपछि मुद्दा स्थगित भएको उहाँको भनाइ छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिनुभएको थियो । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।
गत जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश दिएको थियो । राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि आज बिहीबारका लागि पेशी तोकिएको थियो ।
विसं. २०७२ भदौमा टीकापुरमा दुई वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले २०७५ फागुनमा चौधरीलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो ।गोरखापत्र अनलाइन



