
सुनील महर्जन
काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ ११ गते गर्न सुझाव दिएको छ । राष्ट्रियसभाका २० जना सांसदहरूको पदावधि सकिन लागेकाले आयोगले सरकारसमक्ष उक्त सुझाव दिएको हो ।
आयोगका सम्पूर्ण पदाधिकारीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी सो सुझाव दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोगले परामर्श दिएकै मितिमा निर्वाचन गर्ने गरी निर्णय हुने आश्वासन दिनुभएको छ । यसअघि निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी आगामी माघ महिनाको ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न आयोगले सुझाव दिएको हो ।
कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । उक्त ऐनबमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोक्ने व्यवस्थाबमोजिम कम्तीमा २०८० माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।नेपाल समाचारपत्र दैनिकबाट ।



