खबर

काठमाडौंको तापक्रम घट्दो, तराईमा ‘हाई क्लाउड’

काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि तराईले भने केही राहत महसुस गरेको छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनमत तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम आइतबार त्यसभन्दा पनि तल झरेर २.१ डिग्रीमा आएको थियाे ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री अभिलेख भएको बताउनुभयो । उहाँले आइतबार सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको पनि बताउनुभयो ।

उहाँले तराईले भने केही राहत महसुस गरेको बताउनुभयो । उच्च बादल अर्थात् पातलो बादल (हाई क्याउड) देखिएकाले तराईमा हुस्सु मात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको उहाँले जानकारी दिनुभयो । यो हाई क्लाउडले पानी भने नपार्ने उहाँले बताउनुभयो । “खाली यसले तराईको हुस्सुलाई घटाएर पातलो बनाएको छ, आइतबार साँझ ६ बजेको समयमा धेरै क्षेत्रमा एक हजार मिटरमाथि भिजिबिलिटी थियाे”, मौसमविद् अर्यालले रासससँग भन्नुभयो, “जसले हिजोको भन्दा कम कुहिरो हुँदा घाम लागेर राहत मिलेको छ ।”

मौसमविद्का अनुसार भिजिबिलिटी एक हजार भन्दा तल भएमा कुहिरो लाग्ने र त्यसभन्दा माथि भएमा हुस्सु भन्ने गरिन्छ । तराईमा भोलि पनि केही राहत मिल्ने तर जनजीवनमा भने चिसोले असर नै पार्ने भएकाले सचेत हुन आग्रह गरिएको छ । कतैकतै हुस्सु तथा कुहिरो पनि रहने बताइएको छ/जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button