स्वास्थ्य

जुम्ल्याहा गर्भका समस्या

प्रा. डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ
प्रकृतिले मानिसको पाठेघर खासमा एउटै शिशुका लागि उपयुक्त हुने गरी सिर्जना गरेको भए पनि सधैँभरि प्रकृतिकै नियम पालना हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । त्यसमाथि पछिल्लो समय कतिपय मानिसकै व्यवहारले पनि जुम्ल्याहा वा सोभन्दा बढी शिशु गर्भमा बस्न राम्रो वातावरण सिर्जित भइरहेको छ । उदाहरणको लागि समयको बदलावसँगै ढिलो विवाह गर्ने चलन तथा कृत्रिम गर्भाधानको सुविधाको कारण जुम्ल्याहा वा तिम्ल्याहा गर्भ बस्ने सम्भावना बढ्दै गएको छ । यस्तो समस्या ३ देखि ५ प्रतिशतले बढेको छ । जसमध्ये जुम्ल्याहाको सम्भावना ९५ प्रतिशत छ । तर मानव कृत्रिम गर्भाधानको सुविधाले जुम्ल्याहा र तिम्ल्याहा हुने सम्भावना क्रमशः १४ एवं ५४ गुणाले बढ्न गएको छ ।

समग्रमा यसले गर्दा प्रसूति क्षेत्रमा बिस्तारै नयाँ चुनौती थपिन थालेको छ । किनकि जुम्ल्याहा वा तिम्ल्याहाकै कारण सिजेरियन अपरेसनको आवश्यकता बढ्दै गएको छ । हेलिन (सन् १८९५) को नियम अनुसार ८० जना गर्भवती महिलामध्ये एकजनाले जुम्ल्याहा, ६ हजार ४ सय गर्भवती महिलामध्ये एकजनाले तिम्ल्याहा, ५१ हजार २ सय गर्भवती महिलामध्ये एकजनाले चम्ल्याहा जन्माउँछन् । तर यसमा पनि बदलाव आएको छ ।

दुईवटा छुट्टाछुट्टै डिम्ब छुट्टाछुट्टै शुक्रकीटले निषेचित भएर वा एउटा शुक्रकीटले निषेचित भइसकेको डिम्ब दुईवटा भ्रूणमा बाँडिएर जुम्ल्याहा गर्भ रहन्छ । यही नियम तिम्ल्याहा र चम्ल्याहाको केसमा पनि लागू हुन्छ । निषेचित डिम्ब छुट्टिँदा गर्भाधानको ७२ घण्टाभित्र, ८ दिनभित्र, २ हप्ताभित्र वा सोभन्दा पछि कहिले भएको हो त्यसैको आधारमा विभिन्न खाले जुम्ल्याहाको विकास हुन्छ । तर २ हप्तासम्ममा एक–अर्कामा छुट्टिएन भने टाउको, पेट, जीउ, ढाड, चाक वा शिशुको कुनै भाग जोडिएरै जन्मिने हुन्छ, जसलाई चिकित्सा विज्ञानमा कन्ज्वाइन्ट ट्विन भनिन्छ ।

किन हुन्छ जुम्ल्याहा ?

मोनोजाइगोटिक (एउटा शुक्रकीटले निषेचित भइसकेको डिम्ब दुईवटा भ्रूणमा बाँडिएर हुने) जुम्ल्याहाको कारण विश्वभर एकैखाले भए पनि डाइजाइगोटिक (दुईवटा छुट्टाछुट्टै डिम्ब छुट्टाछुट्टै शुक्रकीटले निषेचित भएर बस्ने) खालको जुम्ल्याहा भने जाति, उमेर, शारीरिक उचाइ, तौल, बच्चा पाएको संख्याका आधारमा फरक–फरक हुन्छ । प्रायजसो पहिलो बेतमै जुम्ल्याहा हुने सम्भावना भए पनि गर्भवती महिलाको उमेर र गर्भ संख्याको वृद्धिसँगै जुम्ल्याहा हुने सम्भावना बढ्दै जान्छ ।

मोटी र अग्ली गर्भवतीमा पनि जुम्ल्याहा हुने सम्भावना बढी हुन्छ ।

किशोरी अवस्थामा डिम्बाशयको गतिविधि सुस्त प्रकारको हुन्छ भने करिब ३७ वर्षको हाराहारीमा डिम्बाशयको काम गराइ उत्कर्षमा हुन्छ । यसै गरी काला जातिमा डिम्ब उत्पादन गर्ने हर्मोनको गतिविधि उच्च भएका कारण पनि अफ्रिकी मुलुकहरुमा जुम्ल्याहाको घटना बढ्दो छ भने पूर्वी एसियाली राष्ट्रहरुमा जुम्ल्याहा जन्मिने सम्भावना कम छ ।

माइतीतर्पm कसैले जुम्ल्याहा पाइसकेको छ भने जुम्ल्याहाको सम्भावना अरुमा भन्दा बढी हुन्छ । मोटी र अग्ली गर्भवतीमा पनि जुम्ल्याहा हुने सम्भावना बढी हुन्छ । त्यसै गरी पिल्स चक्की खान छाडेको लगत्तै अर्थात् पहिलो महिनामै गर्भ रहन गएमा पनि जुम्ल्याहा हुने सम्भावना बढी हुन्छ ।

डाइजाइगोटिक प्रकारको जुम्ल्याहामा दुईवटा छुट्टाछुट्टै साल हुन्छ । दुईवटा सालसँगै रहेका कारण जोडिएको देखिए पनि रगतका नसाहरु भने जोडिएका हुँदैनन् । तर मोनोजाइगोटिक प्रकारको जुम्ल्याहामा दुईवटा शिशुबीच रगतका नसा जोडिएका कारण शिशुहरुबीच रगत आदानप्रदान हुने, उल्टो रगत बग्ने तथा रगतका स–साना डल्ला (इम्बोलाई) एकबाट अर्कोमा उछिट्टिएर जटिलता पैदा गराउने हुन्छ । यसै कारण पनि मोनोजाइगोटिक खालको गर्भमा गर्भेशिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ । गर्भेशिशुको लिंग पहिचान गर्नु गैरकानुनी भए पनि कस्तो प्रकारको जुम्ल्याहा गर्भ हो भन्ने थाहा पाउन जुम्ल्याहाको लिंग पहिचान गर्न जरुरी छ ।

जुम्ल्याहा वा सोभन्दा बढी गर्भ रहँदा महिनावारी रोकिएको अवधिभन्दा गर्भवती महिलाको पेटको आकार ठूलो हुन्छ । हात–गोडा धेरै छामिन्छ । शिशुवरिपरि पानी बढी मात्रामा हुन्छ । दुईवटा छुट्टाछुट्टै ठाउँमा मुटुको ढुकढुकी सुनिन्छ । अल्ट्रासाउन्डबाट जुम्ल्याहा वा तिम्ल्याहाको निक्र्यौल गरिन्छ ।

जुम्ल्याहाका जटिलताहरु

गर्भावस्थाको शुरुतिर लाग्ने वाकवाकी बढी हुन्छ । रक्तअल्पता देखिन्छ । अधिक ठूलो पाठेघरका कारण पाठेघरपछाडिको रक्तनली थिचिन गई गोडा तथा जननेन्द्रियवरिपरिको भाग सुनिन्छ । गर्भावस्थाकै कारणले उत्पन्न हुने उच्च रक्तचाप तथा मधुमेह देखा पर्ने हुन्छ । मुटुको ढुकढुकी बढ्ने, सास फेर्न गाह्रो हुने, महिनापूर्व व्यथा लाग्ने सम्भावना ५ देखि ८ प्रतिशत बढी हुन्छ । पिँडौलाका रक्तनली फुल्ने, गुदद्वारमा पाइल्स देखा पर्ने हुन्छ । पाठेघरको तल्लो भागसम्म साल पुगी व्यथापूर्व रक्तश्राव हुने हुन्छ । सुत्केरीपश्चात् पनि अधिक रक्तश्राव हुने हुन्छ ।

बच्चामा देखा पर्ने असर

गर्भावस्थाकै शुरुतिर गर्भ तुहिन सक्छ । बढीमा ५ प्रतिशतसम्ममा पाठेघरभित्रै जुम्ल्याहामध्ये एउटाको मृत्यु हुन सक्छ । मोनोजाइगोटिक खालको गर्भमा शारीरिक विकलाङ्गता बढ्ता देखा पर्दछ । त्यसै गरी एउटा शिशुको मुटु नै नहुने हुन्छ । वंशाणुगत खराबी पनि देखिन्छ । गर्भेशिशुहरु गलत तरिकाले बस्ने सम्भावना बढी हुन्छ । दुईवटा शिशुबीचको वृद्धिमा फरक हुन्छ । दुवै खाले जुम्ल्याहामा गर्भेशिशुको वजन भने कम हुन सक्छ । त्यसै गरी महिना नपुगी जन्मेको कारण नवजात शिशुमा धेरै जटिलताहरु देखा पर्दछ ।

जुम्ल्याहा गर्भको व्यवस्थापन

जुम्ल्याहा गर्भमा दोस्रो त्रैमासिकपछि बढ्ता चुनौती पर्दछ । जुम्ल्याहा गर्भ थाहा पाउनासाथ फोलिक एसिड, आइरन अनि क्याल्सियमको थप जरुरत पर्दछ । दुईवटा शिशुका कारण आवश्यक पर्ने बढ्ता माग परिपूर्ति गर्नुपर्दछ । यथेष्ट पोषक तत्वसहितको भोजन गर्नका लागि सल्लाह दिनुपर्दछ । यस्तो अवस्थामा थप ३ सय किलो क्यालोरीको जरुरत पर्दछ । घरमा तथा कार्यस्थलमा बढ्ता आरामको जरुरत पर्दछ । रक्तअल्पता, उच्च रक्तचाप भएको, महिनापूर्व व्यथा लागेको थाहा पाउन पटक–पटक फलोअपमा जानुपर्दछ । ३४ हप्ताभन्दा कम अवधिको गर्भ भए सकेसम्म गर्भ लम्ब्याउनुपर्दछ ।

विशेषतः मोनोजाइगोटिक खालको जुम्ल्याहामा अन्य बेलाभन्दा बढ्ता जटिलताहरु समयमै पत्ता लगाउन पटक–पटक अल्ट्रासाउन्ड गराउनुपर्दछ । मानिसको गर्भ ४० हप्ताको हुने भए पनि जुम्ल्याहाको हकमा प्रायलाई दुई हप्ताअगाडि सुत्केरी भइसक्छ । जुम्ल्याहा शिशुमध्ये पहिलो उल्टो तरिकाले बसेको छ, पुट्ठाको हड्डी सानो छ, साल पाठेघरको तलसम्म आएको छ, अत्यधिक रक्तश्राव भइरहेको छ, शिशुको धड्कन तल–माथि भएको छ, पहिला पनि सिजेरियन भएको छ, गर्भेशिशुको तौल निकै कम छ र दोस्रो शिशु अप्रत्याशितरुपमा ठूलो छ भने सिजेरियन अपरेसनको जरुरत पर्दछ । होइन भने योनिद्वारबाटै सुत्केरी गराउन सकिन्छ ।

जुम्ल्याहा गर्भको सुत्केरी व्यथाका दौरान समयअगावै साल छुट्टिन सक्ने, व्यथा पनि राम्ररी बढ्न नसक्ने, लामो समयसम्म पेट ठूलो भइरहेको कारण सुत्केरीपश्चात् पाठेघर खुम्चिन समय लाग्ने, यसै कारण अधिक रक्तश्राव हुने समस्या आउन सक्छ भने सुत्केरीपश्चात् दूध राम्रोसँग नआउने, यथेष्ट मात्रामा नआउने, पाठेघर पनि राम्ररी नखुम्चिने, पाठेघरको संक्रमण हुने हुन सक्छ ।newsofnepal

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button