
बागलुङको कायमारे वनबाट गाउँतर्फ आउँदै गरेका बाँदरको बथान । तस्बिर : नवराज नेपाली
नवराज नेपाली
गलकोट (बागलुङ), साउन २८ गते । “किसानलाई बाँदरबाट खेती जोगाउन मुश्किल भयो । छ महिनामा लगाएको खेती एक दिनमै बाँदरले सखाप पार्छ । बरु हामीलाई अनुदान चाहिँदैन, बाँदरबाट मुक्ति चाहियो,” जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनलाई स्थानीय सकसबहादुर क्षेत्रीले भन्नुभयो ।
“तपाईंले दिएको अनुदानबाट बिउ उत्पादन गरेर घरमा ल्याउन पनि बाँदरले दिएन । अब अनुदानमुखी कार्यक्रम होइन, बाँदर नियन्त्रणको योजना ल्याउनुहोस्,” उहाँले भन्नुभयो ।
जैमिनीकै अर्का किसान पदमबहादुर श्रीसले नगरप्रमुखलाई ‘बाँदर पार्क खै ?’ भनेर प्रश्न गर्नुभयो । जैमिनीमा स्थानीयको प्रमुख गुनासो बाँदर नियन्त्रण नै रहेको पाइएको छ । उनीहरूले बाँदर गाउँमा भित्रिने र नागरिक बसाइँसराइ गरेर बाहिरिने प्रवृत्तिप्रति नगरपालिका मुकदर्शक बन्न नहुने धारणा राखेका छन् ।
“खेतमा मकै पाक्ने बेला हुन्छ, धान, कोदो र गहुँ झुल्ने बेला हुन्छ । तर किसानले घरभित्र बसेर खुसी मान्ने अवस्था छैन । खेत र बाँदरको दौडधुपमै दिन बित्छ,” श्रीसले भन्नुभयो, “घरमा लगाएको तरकारीबाली सबै नष्ट गरिदिन्छ । घरभित्रै छिरेर भकारीको अन्नसमेत नष्ट बनाउँछ । हामीलाई त हैरानै पारिदियो । हुनेखाने सहर छिरे, हामी किसान कता जाने ?”
अर्का किसान काशीराम आचार्यले पनि किसानलाई अनुदान दिनुभन्दा बाँदरको समस्या अन्त्य गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले किसानलाई दिने अनुदानको सट्टा बाँदर नियन्त्रणमा खर्च गर्नुपर्ने उहाँको भनाइ छ । नगरपालिकाले किसानलाई बाँड्ने अनुदानको रकम बाँदर नियन्त्रणमा खर्च गर्न सके किसानले आफ्नै मेहनतले उत्पादन गरेर खान सक्ने उहाँले बताउनुभयो ।
“हामीलाई मल, बिउ वा अनुदानका कार्यक्रमभन्दा पहिले हामीले लगाएको खेती बाँदरबाट जोगाइदिनुस् । बाँदर नियन्त्रण गरिदिनुभयो भने हामी आफ्नै पसिनाले बाँच्न सक्छौँ,” आचार्यले भन्नुभयो, “मान्छेलाई भोकै पारेर बाँदर जोगाउन सकिँदैन । जैमिनीका किसानलाई बाँदरको विकल्प चाहियो ।”
नगरप्रमुख नरबहादुर पुनले बाँदर नियन्त्रणका लागि ‘बाँदर बगैँचा’को अवधारणा ल्याए पनि कानुनी जटिलताका कारण कार्यक्रम सफल हुन नसकेको बताउनुभयो । जैमिनी क्षेत्रमा बाँदरको आतङ्कका कारण खेतीपाती गर्नै कठिन भएको नगरपालिकाले महसुस गरे पनि बाँदरलाई थुन्ने कानुन नभएकाले बाँदर बगैँचा बनाउने काम अघि बढाउन नसकिएको उहाँले बताउनुभयो ।
किसानहरूले नगरपालिकासमक्ष बाँदरको आतङ्कका कारण खेतीपाती छाड्नुपर्ने अवस्था आएको, उत्पादन घट्दै गएको र कतिपय गाउँमा बसाइँसराइसमेत बढ्न थालेको बताएका छन् । उनीहरूले बाँदर पार्क बनाउने योजना मात्रै पर्याप्त नहुने भन्दै खेतीबालीमा निरन्तर क्षति पुर्याउने वन्यजन्तु व्यवस्थापनका लागि कानुन संशोधन गरी प्रभावकारी नीति बनाउनुपर्ने माग गर्दै आएका छन् ।
नगरप्रमुख नरबहादुर पुनले किसानको समस्या वास्तविक र गम्भीर रहेको स्वीकार गर्दै बाँदर नियन्त्रणका लागि नगरपालिका सुरुदेखि नै विकल्प खोजिरहेको बताउनुभयो ।
बाँदरलाई एउटै क्षेत्रमा आकर्षित गरी खेतीयोग्य बस्तीबाट टाढा राख्ने उद्देश्यले ‘बाँदर बगैँचा’ निर्माण गर्ने योजना अघि बढाइएको उहाँले बताउनुभयो । तर बाँदरलाई थुनेर बगैँचामा राख्ने कानुनी व्यवस्था नभएकाले समस्या भएको उहाँको भनाइ छ ।
नगरपालिकाले मसला बालीमा किसानलाई आकर्षित गर्ने योजना पनि अघि सारेको नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । बाँदर व्यवस्थापन स्थानीय तहको सीमित स्रोत–साधनबाट मात्रै सम्भव नहुने बताउँदै उहाँले बाँदर बगैँचा निर्माणका लागि आवश्यक बजेट, प्राविधिक तयारी तथा कानुनी प्रक्रियाका कारण योजना कार्यान्वयनमा समय लागेको बताउनुभयो ।
छिस्तीको पुरानो गाउँ क्षेत्रमा केही पूर्वाधार निर्माण गरी बाँदरलाई आवश्यक पर्ने फलफूलका बिरुवासमेत रोपिएको भए पनि योजना अघि बढाउन नसकिएको उहाँले बताउनुभयो ।गोरखापत्र अनलाइन



