
दीपक खनाल
वायु र सूचना फरक फरक विषय हुन् तर गहिरिएर हेर्दा यी दुवै विषय मानव जीवनमा अत्यावश्यक छन् । अझ भनौँ सम्पूर्ण प्राणीका लागि आवश्यक छन् । जसरी वायु याने हावा (श्वास) नभई कुनै प्राणी बाँच्न सक्दैन, त्यसरी नै सूचनाबिना कोही पनि रहन सक्दैन । श्वास नहुँदा जस्तै सूचना नहुँदा प्राणीलाई उकुसमुकुस हुन्छ । प्रत्येक प्राणीलाई आपसमा घुलमिल हुन सूचना नभई हुँदैन तर आज यी दुवै विषयलाई प्रदूषित बनाइएको छ । खास गरी मानवले यसलाई प्रदूषित बनाएका छन् । आधुनिक भौतिक विकासका नाममा मानवले नै वायुप्रदूषण बढाइरहेका छन् । त्यसरी नै सञ्चार माध्यम, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मका प्रयोगकर्ताले जानी नजानी सूचनाको प्रदूषण फैलाइरहेका छन् ।
दूषित हावाले मानिसको फोक्सो, मुटु, आँखा, नाक जस्ता अङ्गलाई नराम्रो असर पु¥याए जस्तै अनावश्यक रूपमा फैलाइने कामै नलाग्ने, ‘गलत सन्दर्भ, भ्रामक जानकारी, जानाजानी फैलाइएको झुट र हानिकारक सत्य सूचना’ को प्रदूषणले मानिसको दिमागमा नै असर पु¥याइरहेको छ । पहिले सूचना पाउन नै कठिन थियो । प्रभावकारी सञ्चार माध्यम थिएनन् । भएका पनि सीमित थिए । ढिला नै भए पनि एकअर्कालाई भेटेर, सङ्केत वा चिठीबाट अर्गानिक सूचना आदानप्रदान हुन्थ्यो । आजको अवस्था बदलिएको छ । अहिले पहिले जस्तो सूचना पाउन गाह्रो छैन । पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन सञ्चार माध्यम, मोबाइल, सामाजिक सञ्जाल, विभिन्न डिजिटल एपमार्फत छिनभरमै लाखौँ सूचना प्रवाह भइरहेको हुन्छ । मानिसलाई तीमध्ये कुन सही र कुन गलत सूचना, समाचार हुन्, कतिपय उपयोगी र कति अनुपयोगी छन् भनेर छुट्याउनै सकस हुन्छ । त्यसैले अधिकांश गलत, भ्रमपूर्ण, उत्तेजक, सूचना र समाचारको प्रदूषणले समाज र व्यक्तिलाई पथभ्रष्ट बनाइरहेको छ ।
वायुप्रदूषणले शरीरलाई असर गरे जस्तै अपुष्ट, सनसनीपूर्ण, चरित्रहत्या गर्ने, द्वेष फैलाउने विभिन्न सामग्री, भ्रामक, अश्लील भिडियो, हिंसात्मक दृश्य, घृणास्पद भनाइ, आपराधिक गतिविधि, हत्या, आत्मदाह, आत्महत्या, कुटपिट आदि सामग्रीले मानिसको सोचाइ, मानसिक सन्तुलन बदलिरहेको छ । अनावश्यक सूचनाको कब्जामा पर्नु पर्दा धेरै मानिसमा तनाव बढेको छ । त्यसले डर, अन्योल, छटपटी, चिडचिडाहटपन पैदा गर्छ । सत्यतथ्यको खोजी गर्नेभन्दा भ्रम सिर्जना हुन्छ । उठ्नासाथ मोबाइलमा झुम्मिने, दिनभरि सामाजिक सञ्जालमा हराउने, नचाहिँदा पोस्ट, भिडियो, विवादित, गालीगलौज र अफवाहपूर्ण सामग्री हेर्ने बानीले धुलो धुवाँले शरीरलाई शिथिल बनाए जस्तै मस्तिष्कलाई थकित र प्रदूषित बनाउँछ । यसले मानिसमा मानसिक समस्या उत्पन्न हुन सक्छ । पारिवारिक, सामाजिक सम्बन्धमा दरार पैदा हुन सक्छ । बाल मस्तिष्कलाई नै क्षतविक्षत बनाउँछ ।
गलत सूचनाको प्रदूषणले व्यक्ति, समाजलाई मात्रै होइन, समाज र राष्ट्रलाई नै विखण्डित बनाउँछ । गलत सूचनाले समुदायमा द्वन्द्व निम्त्याउँछ । हिजो एउटै बनावटी कथित समाचारका कारण ऋतिकरोशन काण्ड भएको विषय हामीले भुलेका छैनौँ । अस्ति भर्खर सुनसरीमा भएको हृदयविदारक घटना होस् या गणेश नेपाली आत्मदाह प्रकरण, त्यसको फैलावटले भएको मानवीय क्षति, हाम्रा आँखाअगाडि ताजै छ । नागरिक र समाजका लागि मात्रै होइन, सूचनाको प्रदूषण पत्रकारिता पेसाका लागि पनि घातक छ । छिटो सूचना तथा समाचार दिने नाममा तथ्य नै नखोजी ‘भ्युज’, ‘लाइक’ र ‘क्लिक’ खोज्न गरिने सम्प्रेषणको प्रवृत्तिले आज पत्रकार र पत्रकारितालाई नै बदनाम बनाइरहेको छ । पत्रकारिताको नाम र आवरणमा भइरहेको अधिकांश ‘युट्युबकारिता’ र सामाजिक सञ्जालबाट बढाइएको नकारात्मक सञ्चारकर्मले समाजलाई गलत बाटोमा डो¥याइरहेको छ भन्दा अत्युक्ति हुने छैन ।
सामाजिक सञ्जाल, समाचार माध्यम जस्ता देखिने/लाग्ने सञ्चार माध्यम जस्तै देखिने (ननमिडिया), टेलिभिजन जस्ता डिजिटल माध्यमलाई निकै दुरुपयोग गरिएको पाइन्छ । एआई निर्मित/उत्पादित सामग्रीले भ्रम मात्रै सिर्जना हुँदा मन्त्री, सांसद जस्ता जिम्मेवार उच्च पदस्थ व्यक्तिसमेत भ्रमित हुनु परेको छ भने सामान्य नागरिकमा झन् कति भ्रम परेको होला ? कति गलत विचार निर्माण भइरहेको होला ? स्वयम् प्रधानमन्त्रीका नाममा आउने स्टाटस सत्य हुन् कि झुट छुट्याउन कठिन छ । एक ठाउँमा आएको झुटो घटनालाई जस्ताको तस्तै साभार गरेर हाल्ने, सेयर गर्ने प्रवृत्ति बढेको छ । यतिसम्म कि राज्यका प्रतिष्ठित ठानिएका फुर्सदिला मानिस जसलाई दिन मात्रै बिताउनु परेको छ, उनीहरू नै यस्ता अफवाह फैलाउन अग्रपङ्क्तिमा छन् । सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग गरेर समाजमा भ्रम सिर्जना गर्न र मनिटाइजेसन गरेर पैसा कमाउने लालचमा मातादेखि धामीझाँक्रीसम्म, वैद्यदेखि डाक्टरसम्म, युट्युबरदेख वरिष्ठ पत्रकारसम्म लागेको पाइन्छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म हे¥यो भने लाग्छ– यहाँ डाक्टरैडाक्टर, पाइलटैपाइलट, वैज्ञानिकैवैज्ञानिक, पत्रकारैपत्रकार, शिक्षकैशिक्षक, व्यापारी नै व्यापारी, हाँसोमजाक गर्ने कलाकार, उत्प्रेरकैउत्प्रेरक, आध्यात्मिक गुरु नै आध्यात्मिक गुरु, ज्योतिषी नै ज्योतिषी आदि छन् । सबै नेपाली पत्रकार/सञ्चारकर्मी हुन् । सबै आफूलाई सर्वज्ञानी ठान्ने व्यक्ति हुन् ।
यो समस्या नेपालको मात्रै होइन, आज विश्व नै यस्तो प्रवृत्तिबाट आक्रान्त छ । विश्वका बालबालिका, अन्य नागरिक यसको कोपभाजनमा पर्दै आएका छन् । विश्व साम्राज्य फैलाउने नाममा शक्तिराष्ट्रले जानी जानी कमजोर राष्ट्र र विभिन्न शक्ति केन्द्रले आफ्नो वर्चस्व कायम गरेर सधैँ हाबी हुने नाममा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म दुरुपयोग गरेर कमजोर सोझासिधाविरुद्ध सूचनाको प्रदूषण फैलाउँदै आएका छन् । यसको अन्तर्य नबुझी सामाजिक सञ्जाल प्रयोगकर्ता र धेरै जसो पत्रकार/सञ्चारकर्मीले समेत त्यही सिको गर्ने गरेका छन् । पत्रकारसमेत पैसा कमाउने लोभमा त्यसको पछि दौडिरहेका छन् । अतः यसलाई न्यूनीकरण गर्न धेरै ढिला भइसकेको छ । सर्वप्रथम राज्य र सम्पूर्ण सरोकारवाला मिलेर नागरिकमा मिडिया तथा डिजिटल प्लेटफर्म प्रयोग/सदुपयोग सम्बन्धमा साक्षरता बढाउन जरुरी छ । प्राप्त सूचना सही वा गलत जाँच गरी वा बुझी ग्रहण गर्ने र धारणा बनाउने बानीको विकास गराउनु पर्छ । ‘पाइने’ होइन, ‘चाहिने’ सूचना लिनु पर्छ भनेर सिकाउनु पर्छ ।
पत्रकारले पनि छिटो सूचना दिने नाममा अपुष्ट, अफवाहपूर्ण सूचना तथा समाचार सामग्रीलाई स्थान दिनु हुँदैन । सामाजिक सञ्जाल प्रयोगमा नागरिक आफैँ सचेत र अनुशासित हुनु पर्छ । नागरिक, समाज र राष्ट्रलाई हानि पुग्ने सामग्री, विषयवस्तु सम्प्रेषण, सेयर गर्नु हुँदैन। गलत र अफवाहपूर्ण सूचनाको प्रदूषण फैलाएर समाजलाई नै दिग्भ्रमित पार्नेलाई तत्काल कारबाही गर्न प्रहरी प्रशासन पनि हिचकिचाउनु हुन्न भने पत्रकारिता र सञ्चारकर्मको खोल ओडेर यस्तो कर्म गर्ने पत्रकार र सञ्चार माध्यमलाई ‘नैतिक पतन’ गराउन नियामक निकायले पनि खुट्टा कमाउनु हुन्न । किनकि स्वस्थ समाजका लागि स्वच्छ हावा अति आवश्यक भए जस्तै नागरिक, समाज र राष्ट्रका लागि पनि स्वच्छ सूचना त्यति नै आवश्यक छ ।गोरखापत्र दैनिक



