
पूर्वी नेपालको बाहुनडाँगी नाकामा भारतबाट प्रवेश गरेका हात्तीको समूह ।
लक्ष्मीप्रसाद उपाध्याय
मेची नदीबाट करिब १५० किलोमिटर टाढाको महानन्दा वाइल्डलाइफ सेन्चुरीका हात्तीको समूह झापाको बाहुनडाँगी क्षेत्रबाट प्रवेश गर्ने गरेका र ती हात्तीले पूर्वी नेपालमा बढी क्षति पु¥याउने गरेका छन् ।
काठमाडौँ, साउन २६ गते । पछिल्लो समय भारतबाट विचरण गर्दै नेपाल प्रवेश गरेका हात्ती नेपालमा लामो समयसम्म बस्न थालेपछि मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि हुन थालेका छन् ।
नेपालमा रैथाने हात्तीको सङ्ख्या ३२० को हाराहारीमा भए पनि हाल नेपाली भूमिमा विचरण गर्ने हात्तीको सङ्ख्या झन्डै ४५० भन्दा बढी रहेको छ । हाल बढी देखिएका हात्ती भारतबाट मौसमी रूपमा नेपाल प्रवेश गरेको भए पनि भारततर्फ नफर्किंदा यहाँ सधैँ मानव–हात्तीबिच द्वन्द्व हुने गरेको छ ।
जङ्गली हात्तीबाट बढी प्रभावित पूर्वी नेपालको तराईमा मात्र विगत १६ वर्षको अवधिमा ८० जनाको ज्यान गएको छ । यो अवधिमा १६ वटा हात्तीको मृत्यु भएको छ । पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पु¥याउने गरेको छ ।
मेची नदीबाट करिब १५० किलोमिटर टाढाको महानन्दा वाइल्डलाइफ सेन्चुरीका हात्तीका समूह झापाको बाहुनडाँगी क्षेत्रबाट प्रवेश गर्ने गरेका र ती हात्तीले पूर्वी नेपालमा बढी क्षति पु¥याउने गरेको हात्तीविज्ञ डा. अशोककुमार रामले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा नेपालभर हात्तीको आक्रमणबाट ३५७ मानिसको ज्यान गएको छ भने ५७ वटा हात्तीको मृत्यु भएको छ । पूर्वी नेपालबाट प्रवेश गरेको हात्तीको समूहले सर्लाहीसम्म विचरण गर्ने गर्छन् । पहिले मौसमी रूपमा आउने जाने गरेका यी हात्ती भारतमा बढी चुनौती सामना गर्न थालेपछि नेपालमै रैथाने रूपमा बस्न थालेका छन् ।
हात्तीको विषयमा विद्यावारिधि गर्नुभएका डा. रामले भन्नुभयो, “केही वर्षअघिसम्म भारतबाट प्रवेश गरेका हात्ती फेरि उतै फर्किन्थे तर अहिले उता वासस्थानमा चुनौती थपिएपछि नेपालमा बस्न थालेका छन् ।
हाल कोशीटप्पु क्षेत्रमा ४० वटा जतिको समूहमा हात्ती बस्ने गरेका छन् ।” पश्चिम नेपालको तराई क्षेत्र पनि हात्तीबाट प्रभावित क्षेत्र हो । भारतको नन्दुर वाइल्डलाइफ सेन्चुरीका हात्तीको समूह घुम्दै फिर्दै महाकाली नदीको ब्रह्मदेव क्षेत्र भएर शुक्लाफाँटा क्षेत्रमा प्रवेश गर्छन् । त्यसै गरी भारतको पिलिभित टाइगर रिजर्भ र दुधुवा नेसनल पार्क भएर लालझाडी मोहना कोरिडोर क्षेत्रमा प्रवेश गरेर बालीनाली नोक्सानी गर्ने गरेका छन् ।
नेपालमा रैथाने हात्तीको बस्ने क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो । यहाँ जहिले पनि १२० सङ्ख्याको हाराहारीमा हात्तीको समूह बस्ने गरेको छ । डा. रामका अनुसार कहिलेकाहीँ भारतको कतरनियाघाटा वाइल्डलाइफ सेन्चुरीबाट आउने हात्तीले बाँके र बर्दियामा बालीनाली नोक्सान गर्ने र मानिसको ज्यानसमेत लिने गरेका छन् ।
बाँकेको कम्दी जङ्गलसँग सिमाना जोडिएको भारतको सोहेल्बा वाइल्डलाइफ सेन्चुरीबाट आउने हात्तीको समूहले बाँके र दाङमा क्षति पु¥याउने गरेको कुरा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । हात्ती संरक्षित प्राणी हो । मानव–हात्तीबिचको द्वन्द्व नै प्रमुख समस्या भएको कुरा हात्तीमा विद्यावारिधि गर्नुभएका डा. नरेन्द्रबाबु प्रधानले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।



