
मकवानपुरगढी, साउन २७ गते । हेटौँडा सिमेन्ट उद्योगका कर्मचारीले १४ महिनादेखि तलब पाएका छैनन् । उद्योग लामो समयदेखि बन्द रहेकाले कर्मचारीले नियमित पारिश्रमिकसँगै सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा अवकाशपछिको उपदानसमेत पाउन सकेका छैनन् ।
उद्योग प्रशासनका अनुसार स्थायी कर्मचारीको तलब तथा सुविधाबापत मात्रै १२ करोड ३० लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ । त्यसबाहेक विभिन्न श्रम तथा कर्मचारीसम्बन्धी शीर्षकमा उद्योगको दायित्व करोडौँ रुपियाँ पुगेको छ । उद्योगले उपलब्ध गराएको विवरण अनुसार दक्ष तथा अदक्ष श्रमिकको ज्यालाबापत एक करोड ५३ लाख २१५ रुपियाँ, सुरक्षा सेवाबापत एक करोड ८४ लाख २५ हजार रुपियाँ र अतिरिक्त कार्य समयबापत ७२ लाख ४८ हजार ७२० रुपियाँ भुक्तानी हुन बाँकी छ ।
त्यस्तै सामूहिक सावधिक जीवन बिमाबापत एक करोड ८६ लाख, सञ्चय कोष कट्टी दायित्व एक करोड ७२ लाख ९३ हजार, नागरिक लगानी कोष ३७ लाख ५३ हजार, अवकाशप्राप्त कर्मचारीको उपदान चार करोड ९० लाख र तलब कट्टी दायित्व ६३ लाख २५ हजार रुपियाँ रहेको उद्योगले जनाएको छ ।
लामो समयदेखि तलब नपाउँदा कर्मचारीको दैनिक जीवन प्रभावित भएको छ । उद्योगमा कार्यरत कुमदेश झाले परिवारको खर्च धान्न समस्या भएको बताउनुभयो । २०७१ सालमा लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट पाँचौँ तहमा नियुक्त भएर उद्योग प्रवेश गर्नुभएका झाका लागि स्थायी सरकारी जागिर परिवारको आर्थिक सुरक्षाको आधार बनेको थियो । अहिले भने नियमित आम्दानी बन्द भएपछि ऋणको किस्तासमेत तिर्न समस्या भएको उहाँले बताउनुभयो ।
उद्योगका ४२ वर्षीय कर्मचारी दीपेन्द्रकुमार ठाकुरको समस्या पनि उस्तै छ । दुई सन्तानका पिता ठाकुरले तलब नआएपछि छोराछोरीको विद्यालय खर्च जुटाउनसमेत समस्या भएको बताउनुभयो । “विद्यालयले मेरो तलब रोकिएको कुरा कहिलेसम्म बुझ्छ ? मेरो बुवाआमाको शरीरले मेरो खल्ती रित्तो भएको कुरा कसरी थाहा पाउँछ ? मेरो बिचल्ली भयो । कि हाम्रो उचित व्यवस्थापन गरियोस् । यहाँ हाजिरी लगाएर मात्र म के गरुँ ?” उहाँले भन्नुभयो ।
तलबलगायत सुविधा उपलब्ध गराउन माग गर्दै कर्मचारीले जिल्ला प्रशासन कार्यालय, कर्मचारी व्यवस्थापन शाखा र सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराएका छन् । समस्या समाधानका लागि ठोस निर्णय नभएको कर्मचारीको गुनासो छ ।
उद्योगका निमित्त महाप्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार उद्योग करिब तीन वर्षदेखि सञ्चालनमा छैन । पछिल्लो समय चालु पुँजीको अभावमा उद्योग पूर्ण रूपमा बन्द भएको उहाँले बताउनुभयो । “कोइला र जिप्सम ढुङ्गा खरिद गर्न आवश्यक रकम छैन । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग कर्जा सुविधाका लागि पटक पटक अनुरोध गरेका छौँ तर ठोस निर्णय भएको छैन,” उहाँले भन्नुभयो ।गोरखापत्र अनलाइन



