
१
चुपचाप बसेकै छौ मन मिलेसम्म।
दिलभित्र आनन्दको फूल खिलेसम्म।
कोलाहल पछि हुन्छ सञ्जालमा थरिथरि।
थाहा पत्तो केही हुन्न थुक निलेसम्म।
२
उपाधिले ठुलै पद विभूषित भयौ।
एकै रुप एकै रङ्ग एकीकृत भयौ।
अब उठ दशै दिशा ज्ञान दान गर्न।
वर्षौँपछि ज्ञानी भनी परिचित भयौ।
३
सञ्जालमा परिवार भाँड्नेहरु देखिए।
झगडाको बीउ मात्र गाड्नेहरु देखिए।
स्वघोषित अभियन्ता अनगिन्ती मिलेर।
सन्देश नै नकारात्मक बाँड्नेहरु देखिए।
४
विकल्पका बाटाहरु सकेपछि के गर्ने?
टेकिएको हाँगो आफै मकेपछि के गर्ने?
मन बाँधी बस्दा पनि हात खुट्टा बाँधेर।
दुनियाँले नानाथरी बकेपछि के गर्ने?
५
बुझ्यो भने अनैतिक सहर भएको छ।
अन्धकार फैलिएको प्रहर भएको छ।
रथ उही पाङ्ग्रा नौलो फेरीफेरी चल्दा।
सोझालाई हलाहल जहर भएको छ।
(फेसबुकबाट साभार)



