सृजनाको चौतारी

महेन्द्रका ५ मुक्तक

 

परीक्षाको घडीदेखि डराउँछौ तिमी।
नचाहिँदो बात झिकी कराउँछौ तिमी।
अध्ययन बोझ मान्छौ,अर्ती गाली लाग्छ।
बिना श्रमको फल मन पराउँछौ तिमी।

भुक्ने जाति पर्‍यौ तिमी टोक्न जान्दैनौ।
बिना हुकुम कसैलाई ठोक्न जान्दैनौ।
आदेशको पालनामा लमतन्न परेकाले।
साक्षी राखी अविभारा बोक्न जान्दैनौ।

बत्तीमुनि अँध्यारो छ टुकी बाल्दा मात्र।
मन्दिरमा सम्मानले झुकी बाल्दा मात्र।
खम्बानेर विद्युतीय बत्तीमुनि उज्यालै।
अँध्यारो त छेकी बत्ती लुकी बाल्दा मात्र।

छिमेकीकै इसारामा चलेपछि देश,
यसै गरी अप्ठ्यारोमा फलेपछि देश,
भविष्यमा के पो बाँकी रहला र चिनो?
भित्रभित्रै भ्रष्टाचारले जलेपछि देश ।

जुम्बा नृत्य गर्नेलाई वस्त्र दान किन?
नभएको अर्थ मासी यत्रो मान किन?
मौलिक छन् नृत्यहरु बचाउनु पर्ने अरु।
संस्कृतिमा दाग फ़ेरि जानाजान किन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button